सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण हेडक्वार्टर पिलुवाको सोमवार २३औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले विशेष परिस्थितिमा २०५८ जेठ १४ गते स्थापना भएको भद्रकाली गणको नाम परिवर्तित सङ्गठनको विधान अनुसार अहिले रिजर्भ फोर्सको रूपमा रहेको संस्थाले जनधन सुरक्षासहित राजमार्ग सुरक्षामा गरेको सहयोग अतुलनीय रहेको बताए।
सशस्त्र प्रनामनि शाहले पूर्व–पश्चिम राजमार्गमा हुने अवैध गतिविधि तथा सवारी दुर्घटना न्यूनीकरणसँगै बारा, पर्सा, रौतहट क्षेत्रमा आउने सम्भावित सङ्कटको बेला प्रत्यक्षरूपमा सशस्त्र प्रहरी रिजर्भ फोर्सले सहयोग गरेकोप्रति खुशी व्यक्त गरे। मधेस प्रदेश मुख्यालय बर्दिवास देशमैं पहिलो नम्बरमा मूल्याङ्कन भएकोप्रति खुशी व्यक्त गर्दै शाहले यसमा सङ्गठनका सबै प्रहरी जवानदेखि अधिकृतले सहयोग गरेको बताए।
स्थापना दिवसको अवसरमा सञ्चालित साताव्यापी कार्यक्रममा विजयी प्रतिनिधिहरूलाई प्रमुख अतिथिहरूले सम्मानित गरेका थिए।
रिजर्भ गणका सशस्त्र प्रहरी उपरीक्षक मोहन क्षत्रीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाको आइजिडब्लूका समादेशक महासेनानी डा विजीतराज रेग्मी, प्राविधिक तालीम शिक्षालयका समादेशक सप्रवउ प्रमोद शाह, जिल्ला प्रशासन कार्यालय, बाराका सप्रजिअ छविरमण भट्टराई, प्रदेश कृषि निर्देशनालयका निर्देशक डा विश्वेश्वर यादव, प्रउ महेन्द्र खड्का, सेनानी कुमार खड्का, अनुसन्धान उपनिर्देशक दीपक खड्कालगायत विभिन्न उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूको सहभागिता थियो। कार्यक्रमको सञ्चालन सशस्त्र प्रहरी निरीक्ष्Fक दिलीप बस्नेतले गरेका थिए।