केही दिनदेखि अत्यधिक गर्मी बढेसँगै अहिले वार्षिक बिदाबाट कट्टा हुनेगरी पर्सा र बाराका सामुदायिक विद्यालयहरू बन्द गरिएका छन्। अत्यधिक गर्मीको कारण पठनपाठनमा समस्या भएपछि विद्यालयहरू बन्द गरिएका हुन्।
वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले सोमवार बसेको शिक्षा समितिको बैठकले जेठ १६ देखि १८ गतेसम्म वर्षे बिदामा कट्टा हुनेगरी गर्मी बिदा दिइएको बताए। महानगरले जेठ १८ गतेसम्म बिदा दिए पनि १९ गते शनिवार परेकोले महानगर अन्तर्गतका विद्यालयहरू जेठ २० गतेदेखि मात्र सञ्चालन हुनेछन्।
यसैगरी, पर्सागढी नगरपालिकाले पनि जेठ १६ देखि १८ गतेसम्म तीन दिनका लागि नगरपालिका मातहतका बालविकासदेखि कक्षा १२ सम्मका सबै विद्यालय बन्द गर्ने सूचना जारी गरेको छ।
त्यसैगरी, कालिकामाई गाउँपालिकाले पनि जेठ १६ देखि १८ गतेसम्म बिदा दिएको गापाका निमित्त शिक्षा शाखाका प्रमुख मणिभूषणप्रसाद साहले सूचनामार्फत जानकारी दिएका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पनि जेठ १६ देखि १८ गतेसम्म नपाभित्रका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकूद महाशाखाका उपसचिव शिवजी प्रसादले जानकारी गराएका छन्।