इलाका प्रहरी कार्यालय, पोखरियाले जेठ ११ गते राति बरामद गरेको एक ट्रक पशु हड्डी अहिले सो कार्यालयलाई घाँडो भएको छ।
विन्ध्यवासिनी गाउँपालिका–३ झौवाबाट भारततर्फ लैजाने क्रममा इप्रका, पोखरियाको टोलीले ना.८ख ३०८५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो। सो ट्रकमा पशुहरूको हड्डी रहेको र भारत लैजान लाग्दा नियन्त्रणमा लिएको इप्रका, पोखरियाका प्रहरी निरीक्ष्Fक राजन ढकालले बताए।
अहिले सो हड्डी वीरगंज भन्सार, राजस्व अनुसन्धान पथलैया र जिप्रका पर्साले समेत लिन अस्वीकार गरेपछि इप्रका, पोखरियालाई घाँडो भएको हो। पशु हड्डी रहेको झौवामा दुर्गन्ध फैलिएको छ।
प्रहरीले चालकलाई ह्ड्डीधनीबारे जानकारी गराए छाड्ने बताएपछि चालकले भारतीय नागरिक सञ्जय चौरसियाको नाम पोलेका थिए। प्रहरीले चौरसियालाई नियन्त्रणमा लिएको छ र ट्रकचालकलाई छाडिदिएको छ।
बरामद हड्डीका कारोबारी चौरसियालाई अभद्र व्यवहार मुद्दा चलाइएको छ। प्रनि ढकालले भाडाको ट्रक भएकोले चालक र ट्रकलाई छाडिएको बताए। चालक र ट्रक छुटे पनि पशु हड्डी भने झौवामा त्यत्तिकै राखिएको छ।
जसले गर्दा दुर्गन्ध फैलिएको छ। गर्मीयाम भएकोले पशु हड्डी त्यत्तिकै राख्दा दुर्गन्ध फैलिएको र यसको व्यवस्थापन अहिलेसम्म गरिएको छैन।