प्रस, सेढवा, १२ वैशाख/

ठोरी गाउँपालिकामा रहेको सर्पदंश उपचार केन्द्रमा स्थापनाकालदेखि अहिलेसम्म पाँच सय बढी सर्पदंशका बिरामीहरूको उपचार भइसकेको छ।

ठोरी गापा–४ निर्मलबस्तीको पानीटङ्कीमा नेपाली सेनाको सिद्धिबक्स गणले २०७६ फागुन १८ गते अनुमति लिएर फागुन २४ गतेदेखि सेवा शुभारम्भ गरेको अवधिदेखि अहिलेसम्म पाँच सयभन्दा बढी सर्पदंशका बिरामीहरूको उपचार गरेको र यस अवधिमा दुईजनाको मात्र मृत्यु भएको सर्पदंश उपचार केन्द्र्रका प्राविधिक मोहन कुमालले बताए। पर्सा जिल्लाको निर्मलबस्तीमा रहेको यो सर्पदंश उपचार केन्द्र एकमात्र हो। त्यसैले यो सर्पदंश उपचार केन्द्रमा चितवनको माडी नपा, बाराको जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, वीरगंज महानगरपालिका र आसपासका पालिकाहरूबाट बिरामीहरू पुग्ने गर्छन्। सर्पदंश उपचार केन्द्र नहुँदा यस क्षेत्रमा यस अघि धेरैजनाले अनाहकमा ज्यान गुमाउँदै आएका थिए। पहिले चितवन र वीरगंज लगिने सर्पदंशका बिरामीहरू अहिले त्यहाँबाट रेफर भएर यस सेवा केन्द्रमा आउने गरेका छन्। निर्मलबस्तीमा रहेको यस सर्पदंश उपचार केन्द्र्रमा बढी मात्रामा ठोरी र जीराभवानी गापाका पीडितहरू पुग्ने गरेका छन्। गर्मीयाममा यी दुई पालिकामा सर्पदंशका घटना बढी हुने गरेको छ। बितेको दुई महीना चैत र वैशाखमा नौवटा घटना भएको र नौजना नै उपचार गराएर घर फर्केका प्राविधिक कुमालले बताए। उनले अहिलेसम्म दुईजनाको मात्र मृत्यु भएको र बाँकीको सफल उपचार भएर घर फर्केको बताए।

सर्पदंश उपचार केन्द्रमा विषालु सर्पको टोकाइबाट विष लागेका, अरिङ्गालले टोकेका तथा बिच्छुले टोकेर विष लागेका बिरामीहरूको निश्शुल्क उपचार हुने गरेको प्राविधिक कुमालले बताए। गत वर्ष मात्र सर्प र कीराजन्य टोकाइबाट घाइते भएका १४४ जनाको सर्पदंश उपचार केन्द्रमा सफल उपचार गरिएको संस्थापक अध्यक्ष मानबहादुर श्रेष्ठले बताए। उनले पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन व्यवस्थापन समितिको अध्यक्ष भएको बेला नेपाली सेनाको समन्वयमा व्यक्तिगत प्रयासबाट सर्पदंश उपचार केन्द्र स्थापना गरिएको बताए। सर्पदंश उपचार केन्द्रको व्यवस्थापनको लागि ठोरी गापा कार्यालय, सयपत्री बचत तथा ऋण सहकारी संस्था विजयबस्तीलगायतका सङ्घसंस्थाहरूको ठूलो सहयोग गरेको अध्यक्ष श्रेष्ठले बताए। गापा कार्यालयले हालै सोलार प्यानलमा समस्या आएर विद्युत् आपूर्ति असहज भएपछि सर्पदंश उपचार केन्द्रमा जेनरेटर जडान गरेको छ। बिरामीको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनम स्वास्थ्य व्यवस्थापन कार्यालय हेटौंडाबाट निश्शुल्क ल्याउने गरेको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here