इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेक वीरगंज शाखाका कर्मचारीहरू हडतालमा उत्रेका छन् । पानीटङ्कीस्थित शाखा कार्यालयमा १७ जना कर्मचारीले आन्दोलन घोषणा गर्दै धर्ना शुरू गरेका छन् । कम्पनीले कर्मचारीको दुई महीनाको तलबभत्ता, ओभरटाइमको रकमसमेत नदिएकोले आफूहरूले धर्ना कार्यक्रममार्फत विरोध शुरू गरेको जनाएका छन् ।
पर्सा, विन्ध्यवासिनी–४ मधवल घर भई सवा वर्षदेखि फाइबर एकाइमा कार्यरत बिक्कीप्रसाद चौरसियाले कम्पनीले कर्मचारीहरूलाई दिएको तलबभत्तामा पनि श्रम शोषण गरेको आरोप लगाए । उनले जिल्ला प्रशासन कार्यालय, पर्सा र श्रम कार्यालय, वीरगंजमा समेत न्यायका लागि उजूरी गर्ने बताए ।
कम्पनीले विगत दुई महीनादेखि कार्यरत कर्मचारीहरूको तलबभत्ता दिन उदासीनता देखाउँदै आएको छ । कम्पनीले कर्मचारीहरूले तलबभत्ताको माग गरेपछि जेठ ९ देखि ती १७ जना कर्मचारीलाई विनासूचना कामबाट हटाएको छ ।
यस विषयमा क्लासिक टेक वीरगंज शाखाका प्रमुख दीपक साहले कम्पनीको प्रधान कार्यालय काठमाडौंले आंशिकरूपमा तलबभत्ता पठाएकोले केही कर्मचारीले पाएको र केहीको बाँकी रहेको स्वीकार गरे ।
उनले ओभरटाइम तथा ओभरटाइम अवधिको खानाको रकम अर्थात् खुराकी दिन बाँकी रहेको बताए ।उनले काममा लापरवाही गरेपछि उनीहरूलाई हटाएर प्रधान कार्यालय काठमाडौंबाट १० जना प्राविधिकको
टोली बोलाइ वीरगंजको सेवालाई निरन्तरता दिएको बताए । उनले विद्यमान आर्थिक मन्दीको कारण तलबभत्ता उपलब्ध गराउन समस्या भएको पनि बताए ।