प्रस, वीरगंज, ९ जेठ/

खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पर्सासमेतको संयुक्त बजार अनुगमन टोलीले मङ्गलवार वीरगंजका पाँचवटा पानी उद्योगमा अनुगमन गरेको छ ।

वीरगंज महानगर–१२ ब्रह्मचोकस्थित प्योर ड्रिङ्किङ वाटर, वडा नं १६ रजतजयन्तीचोकस्थित निर्जल जल प्रालि, वडा नं १० रानीघाटस्थित बालाजी प्योर ड्रिङ्किङ वाटर, वडा नं २ नारायणी अस्पतालनजीकै वीरगंज प्योर ड्रिङ्किङ वाटर, वडा नं ४ रेलवे रोडस्थित एएसपी नेचुरेल रिसोभर्सेज प्रालिमा संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालय, पर्साका प्रमुख सुरेश सिंहले बताए ।

उनले सातवटा उद्योगमा अनुगमन गर्ने लक्ष्य रहेकामा हिजो पाँचवटामा गरिएको बताए । अनुगमन गरिएका उद्योगहरूमध्ये वडा नं १२ मा रहेको गङ्गोत्री माँ जार उद्योगमा प्रशोधनको लागि पूर्वाधारको कमी रहेको, प्रशोधन कक्ष, सिलिङ–फिलिङ युनिट कक्ष नभएको र २० लिटरको प्रशोधित पानीको जारमा सुरक्षा सिलसमेत नभएकोले सो उद्योगबाट नमूना लिइएको उनले बताए ।

तत्काल सो उद्योगबाट उत्पादित पानी बिक्रीमा रोक लगाइएको र उद्योगले सम्पूर्ण व्यवस्था मिलाएर निरीक्षण गराइ मात्र बिक्री वितरण गर्न निर्देशन दिइएको बताए । वडा नं १६ स्थित निर्जल जल प्रालिमा उद्योग परिसर फोहर रहेको, २० लिटर प्रशोधित पानीमा लेबल र सुरक्षा सिल नभएकोले दुई थान पानीको जार निरीक्षणको लागि लिइएको र बिक्री वितरणमा रोक लगाइएको बताए ।

वडा नं १० स्थित बालाजी प्योर  ड्रिङ्किङ वाटरमा जार र पानी प्रशोधनको लागि पूर्वाधारको कमी रहेको, प्रशोधन कक्षा, पुनः प्रशोधन कक्ष, वासिङ, फिलिङ युनिटको छुट्टाछुट्टै कक्ष नभएको, २० लिटरको पानीको जारमा सुरक्षा सिल नभएको पाइएपछि पुराना जारलाई प्वाल पारी डिस्पोज गरिएको र जाँचको लागि उद्योगबाट पानीको नमूना सङ्कलन गरिएको बताए ।

वडा नं २ नारायणी अस्पतालनजीकको वीरगंज प्योर ड्रिङ्किङ वाटरमा अनुज्ञापत्र नवीकरण भएको प्रमाण पेश नगरेको, २० लिटर प्रशोधित पानीको जारमा ब्याच नम्बर नभएकोले दुईवटा जार परीक्षणको लागि लिएको र कागजातसहित खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण कार्यालयमा उपस्थित हुन निर्देशन दिएको र तत्कालको लागि उत्पादन बन्द गराइएको उनले बताए ।

वडा नं ४ रेलवेमा रहेको एएसपी नेचुरल रिसोभर्सेजमा भने पानीको उत्पादन बन्द रहेको तर बारा जिल्लामा रहेका उद्योगबाट उत्पादित पानी बिक्री वितरणको लागि सम्बन्धित निकायमा दर्ता गराइ उद्योग सञ्चालन गर्न निर्देशन दिएको बताए ।

संयुक्त अनुगमन टोलीमा वाणिज्य कार्यालय, पर्साका मदरेश साह, प्रमोद बुढाथोकी, जिल्ला प्रशासनका ब्रह्मदेव यादव, वीरगंज उद्योग वाणिज्य सङ्घका मनोज दास, जिप्रका, पर्साका सत्यनारायण साह, उपभोक्ता हित संरक्ष्Fण मञ्चका प्रवीण तिवारी, सन्दीप सङ्ग्रौलालगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here