अर्थशास्त्रको सिद्धान्त हो माग बढेपछि मूल्य बढ्छ र मूल्य बढेपछि माग घट्छ। बजारमा मागभन्दा कम वस्तु आपूर्ति भएपछि मूल्य बढ्छ अनि माग कम तथा वस्तु बढी भएपछि मूल्य घट्छ। अहिले पर्सा जिल्लामा बोइलर कुखुराको हकमा यस्तै भएको छ। कुखुरा फार्महरूमा कुखुरा छैनन्। जिल्लामा साढे तीन सय फार्म छन् तर कुखुरापालन भने सयवटामा मात्र भइरहेको छ। सयवटा फार्ममा पनि सञ्चालकहरूले कुुखुराको सङ्ख्यामा कमी गरेका छन्। यसो गर्नुको कारण बढ्दो गर्मी हो। गर्मीयाममा कुखुरापालनमा समस्या हुन्छ। गर्मीयाममा कुखुराहरू बढी मर्ने गर्छन्। सामान्यतया बोइलर कुखुरा १२ हप्ता अर्थात् तीन महीनाभित्रमा तयार हुन्छ। तर गर्मीमा यति अवधिसम्म बोइलर कुखुरालाई तयार गर्न समस्या हुन्छ। गर्मीमा बोइलर कुखुराहरूमा विभिन्न खाले रोग लाग्छ। यहाँ कुखुरापालनमा चिकित्सकीय सल्लाह लिने अभ्यासको त्यति विकास भएको छैन।

यसैगरी फार्म, चल्ला र कुखुराको बीमाको पनि व्यवस्था छ। यो अवसरको पनि उपयोग गरेर जोखिम न्यूनीकरण गरिएको पाइन्न। थोरैले गरेका छन् भने पनि बीमा कम्पनीलाई गलत विवरण दिएर ठग्ने नियत बढी देखिएको पाइएको छ। यसको मतलब पर्सा जिल्लामा व्यावसायिकरूपमा बोइलर कुखुराको पालन हुने गर्दैन। कागजीरूपमा फार्मको सङ्ख्या साढे तीन सय देखाइएको छ तर उत्पादन सयवटा फार्मबाट हुनुले पनि यो कुरालाई पुष्टि गर्छ। डेढ दशक अघिसम्म पर्सा जिल्लामा बोइलर कुखुराका फार्म औलामा गन्न सकिने थिए। यहाँका कुखुरा फार्महरूले छिमकी जिल्ला चितवन र छिमकी देश भारत, बिहार राज्यबाट बोइलर कुखुरा आयात गरी यहाँको माग पूर्ति गर्दै आएका थिए। चितवनमा बोइलर कुखुरा व्यावसायिकरूपमा पालन गरिन्छ। भारतबाट बोइलर कुखुरा आयातमा रोक छ। बर्डफ्लूको प्रकोप बढेपछि पक्षीजन्य पदार्थको आयात र निर्यात दुवैमा सरकारले रोक लगाएको छ, जुन अहिलेसम्म विद्यमान छ। पक्षीको आयातमा रोक लाग्नु अघि चितवनबाट थोरै कुखुरा खरीद गर्ने र भारतको बिहारबाट बढी आयात गरेर खपत गरिन्थ्यो। यसो गर्नुको कारण बिहारमा बोइलर कुखुरा नेपालको तुलनामा निकै सस्तो हुनु हो। बर्डफ्लूपछि भारतबाट पक्षीजन्य पदार्थ आयातमा रोक लागेसँगै भारतबाट बोइलर भिœयाउने र चितवनको बिल देखाएर वैधानिक बनाउने अभियानमा रोक लाग्यो। यही भएर झोले विद्यालयझैं फर्जी फार्महरू धमाधम खुले।

भारतबाट चोरबाटो कुखुरा ल्याउने र आफ्नो फार्मको उत्पादन देखाएर बिक्री गर्ने परिपाटी बढ्यो। अहिलेसम्म त्यस्तै हुँदै आएको छ। अहिले भारतबाट बोइलर कुखुरा ल्याउँदा जोखिम बढी छ। दुवै देशका सुरक्षाकर्मीहरूले यो व्यापारमा कडाइ गरेका छन्। चल्ला, बोइलर कुखुरा चोरबाटोबाट आउने क्रम पातलिएसँगै पर्सा जिल्लाका फार्महरू पनि रित्तिन थाले अनि बन्द गर्नुको विकल्प रहेन। बोइलर कुखुराको उत्पादन घटेसँगै गत फागुनदेखि मूल्य बढ्न शुरू भएको हो। यस वर्ष प्रतिकिलो २२० रुपैयाँसम्म भएको बोइलर फागुनदेखि निरन्तर बढ्न शुरू भएर अहिले ४८० रुपैयाँ प्रतिकिलोसम्म पुगिसकेको छ। बोइलर कुखुराको व्यवसाय गर्दै आएकाहरू अहिले पनि थोरै मुनाफामा यो काम गरिरहेका छन्। तर व्यवसायको नाममा फर्जी काम गर्नेहरू भने घाटा बेहोर्न नसकेर फार्म बन्द गरी बसेका छन्। सीमा सुरक्षामा कडाइ खुकुलो भएपछि तस्कर समूह सक्रिय हुन्छ र बन्द रहेका फार्महरू पनि अस्तित्वमा आउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here