नेपाली काङ्ग्रेस, पर्साले मङ्गलवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ज्ञापनपत्र बुझाउँदै जेठ ४ गते साँझ भएको घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारबाईको माग गरेको छ।
नेका, पर्साका सभापति एवं प्रदेशसभा सदस्य जनार्दनसिंह क्षत्रीले प्रमुख जिल्ला अधिकारी भुसाललाई ज्ञापनपत्र बुझाउँदै सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछानेमाथि संसदीय छानबीन समिति गठन गर्न र वीरगंज महानगरका प्रमुख राजेशमान सिंहविरुद्ध किर्ते नागरिकता मुद्दाको छानबीनको माग गर्दै जेठ ४ गते नेविसङ्घ पर्साले गरेको विरोध कार्यक्रममा माईस्थान चोकमा भएको झडपप्रति नेका, पर्साको ध्यानाकर्षण भएको बताए।
उनले नेविसङ्घ, पर्साका अध्यक्ष रमेशकुमार यादवसहितका कार्यकर्ताहरू घाइते भएको घटनामा शान्तिपूर्ण प्रदर्शन रोक्ने नियोजित षड्यन्त्र भएको भन्दै सोको निष्पक्ष छानबीन गरी दोषीलाई कानूनबमोजिम कारबाई गर्न माग गरेका थिए।
यसअघि घण्टाघरमा भेला भएर नेपाली काङ्ग्रेसका विभिन्न भ्रातृ सङ्गठनका कार्यकर्ताहरूले नाराबाजी गर्दै नगरपरिक्रमा गरेका थिए। प्रदर्शनमा प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, प्रदेशसभा सदस्य शङ्कर चौधरी, नेका पर्साका उपसभापति रामनारायण कुर्मी, सचिव एवं उपप्रमुख इम्तियाज आलम, क्षेत्रीय सभापति महम्मद सहाबुद्दीन, नवीन सिंहलगायतको सहभागिता थियो।