वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले अहिले सामुदायिक विद्यालयहरूमा पुगेर विद्यार्थीहरूको

मनोबल उच्च पार्ने अभियान शुरू गरेका छन्। गत सातादेखि कक्षाकोठामा मेयर अभियान अन्तर्गत नगरप्रमुख सिंह विद्यालय  पुगेर विद्यार्थीहरूको सिकाइबारेमा रुचि लिने कार्य गर्दै

आएका छन्। वीरगंज महानगर–४ स्थित महावीरप्रसाद रघुवीरराम त्रिजुद्ध माविबाट शुरू गरेको यो अभियानको दोस्रो चरणमा वीरगंज महानगर–२५ बहुअरीस्थित  शारदा माविमा हिजो पुगेका थिए। नगरप्रमुख

सिंहले सामुदायिक विद्यालयहरूमा शिक्षकहरूको पढाउने  शैली र विद्यार्थीहरूले कतिको रुचि लिने गरेका छन्

भन्ने विषयलगायत विद्यालयका अन्य शैक्षिक गतिविधिबारेमा पनि स्थलगत अनुगमन शुरू गरेका छन्। अभियानको नाम जे दिए तापनि नगरप्रमुखको यो काम सराहनीय  छ।

अरूले भने सुनेका कुरामा भन्दा प्रत्यक्षरूपमा विद्यालयमा पुगेरै विद्यार्थी, शिक्षकहरूबाट समस्याहरूबारे जानकारी राख्नु राम्रो कार्य हो। यसले नगरप्रमुख महानगरभित्रका  शैक्षिक गतिविधिहरूका बारेमा जानकार हुन्छन् र समस्या समाधान गर्न उनलाई सजिलो पनि हुन्छ। अहिले दुई  साता भयो यो अभियान सञ्चालन भएको। यसअघि पनि नगरप्रमुखले शैक्षिक गतिविधिमा प्रत्यक्ष निगरानी राख्दै आएका थिए। विद्यालयहरूको अनुगमन गर्ने, विद्यार्थी,

शिक्षक र कर्मचारीहरूको लापरवाहीबारेमा जानकारी लिने अनि त्यसलाई सुधारका लागि निर्देशन दिने गरेका थिए। अहिले त्यसैलाई ‘कक्षाकोठामा मेयर’ नाम दिएर विद्यालयको अनुगमन थालिएको छ। यसअघि शैक्षिक गुणस्तर

सुधारका लागि सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाका छोराछोरी सामुदायिक विद्यालयमैं अध्ययन गर्नुपर्ने

निर्देशन गरिएको थियो। अहिले नयाँ शैक्षिकसत्र शुरू  भइसकेको महीना बढी भएको छ तर कति शिक्षकशिक्षिकाहरूले आफ्ना छोराछोरीहरूलाई  सामुदायिक विद्यालयमा भर्ना गराए महानगरको

शैक्षिक प्रशासन महाशाखाले सार्वजनिक गरेको छैन। सामुदायिक विद्यालयमा कक्षा १० सम्मको अध्ययन

निश्शुल्क हुन्छ। वीरगंज महानगरपालिकाले केही विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पनि अध्ययन गराउँदै आएको छ।

सामुदायिक विद्यालयका शिक्षकशिक्षिकाहरूले अङ्ग्रेजी अथवा नेपाली माध्यम दुवैमा निश्शुल्क अध्ययन गराउन पाउने अवसरको प्रयोग गरिरहेका छैनन्। सामुदायिक विद्यालयहरूको अध्ययनप्रति त्यहाँ कार्यरत शिक्षकशिक्षिकाहरूलाई नै विश्वास नहुनु हो। महानगरले निर्णय गतिलो गरेसँगै गतिलो कार्यान्वयनमा पनि ध्यान दिन जरुरी छ। लोकप्रिय निर्णय गरेर वाहवाही  मात्र कमाउने शैलीले क्षणिक आनन्द होला तर त्यसले शैक्षिक क्षेत्रमा आशाप्रद सुधार ल्याउन सक्दैन।  तसर्थ राम्रा कामहरूलाई निरन्तरता दिने, निर्णयहरू  कार्यान्वयन गर्न, गराउन लगाउनेतर्फ पनि ध्यान दिन जरुरी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here