-राकेश अधिकारी

बारा जिल्लाको जीतपुरसिमरास्थित रामवनमा मुहान रहेको श्रीसिया नदी यस क्षेत्रका मानिस तथा जीवजन्तुहरूका लागि जीवनरेखा भएको यसमा कसैको विमति हुन सक्दैन। यो नदी उद्योगहरूले मात्र प्रदूषण गरेको भन्नुमा केही नाइन्साफी नै होला किनकि यसमा घरका ढल, नालाको पानी, महानगरपालिकाको ढलको पानी मिसिएको जगजाहेर नै छ। उद्योगले धेरै मात्रामा पानीको खपत र औद्योगिक सामग्री उत्पादन गर्दा निश्चितरूपमा केमिकलहरूको प्रयोग त गरेको हुन्छ नै त्यसलाई कसरी कम गर्ने र विसर्जन गर्ने भन्ने कुरा महत्वपूर्ण हुन जान्छ। यसमा महानगरपालिकाले पानी सफा हुनुपर्छ भनेर मात्र उम्कन पाउँदैन किनभने उद्योगले रोजगार सिर्जना गर्नुका साथै राजस्व पनि तिरिरहेका छन् साथै उद्योगले पनि रोजगार सिर्जना र राजस्व तिरेको छु भनेर अटेर गर्न पाउँदैन।

हामीले यो कुराको पनि हेक्का राख्नुपर्छ कि यदि उद्योगहरूले श्रीसिया नदीमा पानी विसर्जन नगर्ने हो भने सुक्खायाममा पानी खोज्नुपर्ने अवस्था हुन जान्छ। त्यस कारण यस नदीलाई प्रदूषित गर्ने कार्यमा सबैको दोष केही न केही मात्रा त छँदैछ, चाहे त्यो प्रत्यक्षरूपमा होस् वा अप्रत्यक्षरूपमा।

यसको दीर्घकालीन समाधानका लागि निम्न विकल्पहरू हुन सक्छन् ः

१) औद्योगिक ढल निर्माण गर्न सम्बन्धित उद्योगहरूसँग महानगरपालिकाले समन्वय गरी कोष सङ्कलन गर्ने जिम्मा आफैंले लिएर अघि बढ्ने। त्यसपछि पानी प्रशोधन केन्द्र बनाइ प्रशोधित पानी श्रीसियामा बगाउने।

२) श्रीसिया नदीबाट प्रत्यक्ष असर रक्सौलवासीलाई पनि पर्ने भएकोले कोष  सङ्कलन र प्राविधिक सहयोगको लागि भारतीय महावाणिज्य दूतावाससँग सहयोग लिन सकिन्छ।

३) केमिकलयुक्त पानी धेरै खपत गर्ने उद्योगहरूको लगत सङ्कलन गरी उनीहरूलाई नै कर वा अन्य सुविधा दिई सामूहिक पानी प्रशोधन केन्द्र बनाउनको लागि पहल गर्ने। पानी प्रशोधन केन्द्रको लागत तथा सञ्चालन खर्च धेरै नै हुन्छ।

४) पानी प्रशोधन केन्द्र बनाउन कमसेकम ७/८ महीना लाग्ने भएको हुँदा त्यति समयको लागि चुना, फिटकिरी तथा अन्य रसायनद्वारा प्रदूषित पानीलाई केही हदसम्म सफा गरी विसर्जन गर्न सकिन्छ।

५) महानगरपालिकाले एउटा औद्योगिक ग्राम बनाउने र आगामी दिनमा त्यही ग्राममा उद्योग खोल्न लगाउने। केमिकलयुक्त पानी धेरै खपत गर्ने उद्योगको हकमा पानी प्रशोधन केन्द्र जडान नगरेसम्म कुनै पनि सिफारिश नदिने वा अन्य कारबाई गर्ने।

माथि उल्लिखित बुँदाहरूमा सोचविचार गरी कदम चालिएमा यसको दीर्घकालीन निकास निस्कने देखिन्छ अन्यथा उही ‘बिरालो र मुसाको’ कथा हुन जान्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here