प्रस, वीरगंज, ६ जेठ/

आइतवार बिहान ७ बजे वीरगंजको बहुअरीस्थित शारदा माविमा वीरगंज महानगरका प्रमुख राजेशमान सिंह कक्षा १० का विद्यार्थीसँगै बसेर सिक्दै सिकाउँदै गरेको भेटिए। महानगरले शुरू गरेको ‘कक्षाकोठामा मेयर’ कार्यक्रम अन्तर्गत उनी बिहानै शारदा मावि पुगेका थिए। कक्षाकोठामा विद्यार्थीसँगै बसेर प्रमुख सिंहले विद्यार्थीहरूलाई आफ्नो अनुभव र जीवन भोगाइका कुरा बताएका थिए।  जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हिम्मत कहिल्यै हार्नुहुँदैन भन्दै उनले विद्यार्थीहरूलाई उत्प्रेरणा जगाएका थिए।

प्रमुख सिंहले अध्ययनलाई केन्द्रमा राखेर अन्य गतिविधिलाई पनि समानरूपमा अघि बढाउन विद्यार्थीहरूलाई आग्रह गरेका थिए। प्रमुख सिंहले विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूले गरेका गृहकार्य अवलोकन गर्नुका साथै समस्याका बारेमा जानकारी लिएका थिए। विद्यार्थीसँगै बेन्चमा बसेर उनीहरूका र आफ्ना कुरा सुनाउन पाउँदा विद्यार्थीहरूमा उत्साह जागृत भएको प्रमुख सिंहले बताए। विद्यार्थीहरूमा उत्प्रेरणा जगाउन प्रमुख सिंहले विभिन्न विद्यालयमा पुगेर ‘कक्षाकोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिने गरेका छन्। यस अघि विद्यार्थीको हौसला बढाउन त्रिजुद्ध मावि पुगेका थिए।

प्रमुख सिंहले कक्षा १० मा पुगेर विद्यार्थीहरूलाई उत्प्रेरणा दिंदा विद्यार्थीहरूको अध्ययनमा चाख बढेको शारदा माविका प्रधानाध्यापक विनोद मेहताले बताए। प्रमुख सिंहले विद्यालयको अनुगमनसमेत गर्दै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगका बारेमा जानकारी लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here