कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले सङ्घ सरकारबाट प्रदान गरिने चालू तथा पूँजीगत शीर्षकमा १४ वटै पालिकामा विनियोजित रकम पठाएको जनाएको छ।
पर्सा जिल्लाका १४ वटा पालिकाको लागि सरकारले १० अर्ब ३८ करोड १६ लाख २० हजार ७३६ चालूगत पूँजी विनियोजित गरेको र त्यसमध्ये सरकारको निर्णय अनुसार ७४.११ प्रतिशत रकम सम्बन्धित पालिकाहरूमा पठाइएको कोलेनिका, पर्साले जनाएको छ।
कोलेनिका, पर्साले चालू पूँजीतर्फ रु आठ अर्ब ३५ करोड ५८ लाख ८३ हजार ५४ पठाएको जानकारी गराएको छ। वीरगंज महानगरपालिकाको लागि चालूतर्फ रु ५६ करोड ५१ लाख ९८ हजार विनियोजित गरेकोमा रु ४२ करोड ३३ लाख ८७ हजार ६१ पठाएको जनाएको छ। यो रकम सरकारको पछिल्लो निर्णय अनुसार ७४.११ प्रतिशत रहेको जानकारी गराएको छ।
यसैगरी, पर्सागढी नगरपालिकाको लागि रु १२ करोड १४ लाख नौ हजार विनियोजित भएकोमा रु छ करोड २३ लाख ८९ हजार ७९२, पोखरिया नपाको लागि १२ करोड २९ लाख ३४ हजार विनियोजितमध्ये आठ करोड ८४ लाख ४५ हजार २८५, बहुदरमाई नपाको लागि १२ करोड ५५ लाख २४ हजार विनियोजितमध्ये नौ करोड ७७ लाख आठ हजार ५८७, कालिकामाई गापाको लागि आठ करोड ८२ लाख ६४ हजार विनियोजितमध्ये छ करोड ३६ लाख ४९ हजार ६५७, छिपहरमाई गापाको लागि नौ करोड सात लाख ४५ हजार विनियोजितमध्ये सात करोड आठ लाख ४४ हजार ४५१, जगरनाथपुर गापाको लागि ११ करोड ८० लाख ६४ हजार विनियोजितमध्ये नौ करोड २४ लाख २२ हजार ११० पठाएको कोलेनिका, पर्साका मनीष गौतमले जानकारी गराएका छन्।
यसैगरी, जीराभवानी गापाको लागि सात करोड ३६ लाख दुई हजार विनियोजित रकममध्ये सात करोड तीन लाख आठ हजार ८९९, ठोरी गापाको लागि नौ करोड ६२ लाख २३ हजार विनियोजितमध्ये छ करोड ९० लाख ८० हजार १५०, धोबिनी गापाको लागि आठ करोड १० लाख ७० हजार विनियोजितमध्ये छ करोड ४६ लाख ४४ हजार ९२७, पकाहामैनपुर गापाको लागि विनियोजित आठ करोड ७६ लाख २९ हजारमध्ये छ करोड ४७ लाख ७१ हजार ४४६, पटेर्वासुगौली गापाको लागि विनियोजित सात करोड ४९ लाख ८९ हजारमध्ये पाँच करोड ८० लाख ८१ हजार ९९७, विन्ध्यवासिनी गापाको लागि विनियोजित आठ करोड ९६ लाख २० हजारमध्ये छ करोड ६० लाख २१ हजार ८६१ र सखुवाप्रसौनी गापाको लागि विनियोजित १० करोड ७७ लाख ६७ हजारमध्ये पाँच करोड ५८ लाख ५८ हजार १९७ पठाइसकेको जानकारी गराइएको छ।
चालूतर्फको हरहिसाब कोलेनिकामा उपलब्ध भएपनि पूँजीगततर्फको खर्च भने पालिकास्तरबाटै प्राप्त गर्न सकिने कोलेनिकाका गौतमले बताए। उनले पूँजीगत खर्चका बारेमा कोलेनिकामा जानकारी प्राप्त नभएको र पालिकाहरूले नै यसको विवरण दिन सक्ने उनले जानकारी गराएका छन्।
पूँजीगततर्फ १४ वटा पालिकामा दुई खर्ब २२ करोड ७३ लाख ७३ हजार रकम विनियोजन भएकोमा एक खर्ब २० करोड ५७ लाख ७९ हजार ६३५ पठाइसकेको गौतमले बताए।
उनले वार्षिक बजेट त्रैमासिकरूपमा पठाउने गरिएको र पर्सा जिल्लाका १४ वटै पालिकामा अन्तिम चौथो त्रैमासिक बजेट पठाइसकेको बताए। पर्सागढी नपामा प्रमुख प्रशासकीय अधिकृत हालै नियुक्त भएर आएकाले त्यहाँ बजेटका केही अंश बाँकी रहेको उनले बताए।
सरकारले चालू र पूँजीगततर्फ विनियोजित बजेटमध्ये २३.८९ प्रतिशत कट्टा गर्ने यस अघि निर्णय गरेको थियो। आर्थिक मन्दीको कारण सरकारले पालिकाहरूमा दिने बजेट कट्टा गर्ने निर्णय गरे अनुसार सोहीअनुरूपको बजेट विनियोजिन गरेर पठाएको कोलेनिका, पर्साले जनाएको छ।