जिल्ला प्रहरी कार्यालय, पर्साले विभिन्न मुद्दाको आरोपमा आइतवार बिहान एकजना वृद्धलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–५ महुवन निवासी प्रेम गिरी रहेको प्रहरीले जानकारी गराएको छ। पक्राउ परेका गिरी चार दशकअगाडि नेपाल–भारत सीमामा हुने चोरी, डकैती, लुटपाट, अपहरणलगायत घटनाका मुख्य योजनाकार रहेको गाउँलेहरूको भनाइ छ।
सो बेला खासगरी सीमावर्ती बिहारका गाउँमा गिरीको नाम सुन्ने बित्तिकै आतङ्क मचिने र मानिस लुकेर घरमा बस्ने गरेको गाउँलेहरूले दाबी गरेका छन्। गिरी अहिले महानगरभित्र पर्ने अपौनी गाउँमा सो बेला भएको गोलीकाण्डमा आरोपित रहेको बुझिएको छ। जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा भएपनि त्यति बेला प्रहरीले के कारणले पक्राउ नगरेको हो खुलेको छैन। तर अहिले आएर अशक्त वृद्ध गिरीलाई पक्राउ गर्नुको कारण खोजबीनको विषय भएको छ। स्रोतका अनुसार गिरीजस्तै पर्सामा केही मानिस विगतमा गरेका अपराधका घटनामा आरोपित भएपनि अहिले सार्वजनिक जीवन बाँचिरहेका छन् भने त्यसमध्ये अहिले तीनजना जनप्रतिनिधि नै भइसकेका छन्। सो बेला गिरीलगायत अन्य केही व्यक्ति सीमा क्षेत्रमा आपराधिक कार्यमा लिप्त थिए। समयक्रमसँगै उनीहरू आपराधिक कार्य छाडेर अहिले सार्वजनिक जीवनमा छन्।
यस विषयमा प्रहरी नायब उपरीक्ष्Fक कुमारविक्रम थापाले गिरी पक्राउ परेको र उनीमाथि थुप्रै मुद्दा रहेको बताए। गिरीविरुद्धका पुराना फाइलहरू खोजबीन भइरहेको र अहिलेसम्म कुनै अपराधका फाइल फेला नपरेको प्रहरी स्रोतले जानकारी गराएको छ।