सर्लाहीमा पहिलोपटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा शुरू भएको छ। मधेस प्रदेशको श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले शुक्रवार मलङ्गवा नगरपालिका–९ स्थित रहेको मङ्गलबाबा ट्रायल सेन्टरको उद्घाटन गरेपछि सवारी चालकको प्रयोगात्मक (ट्रायल) परीक्षा शुरू भएको हो।
प्रयोगात्मक परीक्षा तथा ट्रायल सेन्टर स्थलको अनुगमन तथा उद्घाटन गर्दै मन्त्री लुङ्गेलीले यातायात व्यवस्था कार्यालय, सर्लाहीमा कार्यरत कर्मचारीहरूलाई सेवाग्राहीलाई छिटो र सहजरूपले सेवा प्रदान गर्न निर्देशन दिए।
अहिले मधेस प्रदेशमा लिखित र ट्रायल परीक्षा नदिइकनै पैसा खर्च गरेर लाइसेन्स लिन पाइन्छ भन्ने मानसिकता व्यापक रहेकामा त्यसलाई निरुत्साहित गर्न पूर्णरूपमा प्रशिक्षित भएर सरकारको नियम पालना गर्दै मेहनतले लाइसेन्स लिन उनले सुझाव दिए। कार्यालयमा कर्मचारी र स्रोत साधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री लुङ्गेलीले त्यसको हल गर्ने प्रतिबद्धतासमेत जनाए।
यातायात कार्यालय, सर्लाहीले गत जेठ १ गतेदेखि सवारी चालक अनुमतिपत्र जारी प्रक्रिया शुरू गरेको छ।
प्रयोगात्मक परीक्षा (ट्रायल)को सुरुआतको पहिलो दिन २४४ जना परीक्षार्थी सहभागी भएका थिए। उनीहरू जेठ २ र ३ गतेको लिखित परीक्षामा उत्तीर्ण भएर ट्रायलको लागि सहभागी भएका थिए।
यातायात व्यवस्था कार्यालय सर्लाहीका प्रमुख राकेश यादवले यस कार्यालयबाट प्राप्त हुने सेवा सुविधाको सहजतामा कुनै कसर बाँकी नराख्ने बताए।
लाइसेन्स वितरण कार्य शुरू भएसँगै अब यस कार्यालयबाट सवारी चालक अनुमतिपत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण, रूट परमिटलगायतका सम्पूर्ण सेवा सुचारु भइसकेको प्रमुख यादवले जानकारी दिए।
सोही अवसरमा स्कूटीको लाइसेन्सका लागि ट्रायलमा उत्तीर्ण गरेर पहिलो सेवाग्राही बन्न सफल जिल्लाकै चक्रघट्टा गाउँपालिका–५ की स्नेहाकुमारी मण्डललाई मन्त्री लुङ्गेलीले प्रमाणपत्र प्रदान गरेका थिए।
यसअघि यातायात व्यवस्था कार्यालय सर्लाहीबाट लाइसेन्स वितरणको कार्य नहुँदा जिल्लाका हजारौं सेवाग्राही लहान, जनकपुर, बर्दिबास र वीरगंज पुग्नुपर्ने बाध्यता थियो।