सर्लाही जिल्लाको चन्दनगर गाउँपालिकामा नेपाली सेनाले शनिवार निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
भैरवी दल गण, फिल्ड अस्पताल बर्दिबासको आयोजना तथा चन्द्रनगर गापा, नगर अस्पताल लालबन्दी, सर्लाही इमेजिङ एन्ड डाइग्नोस्टिक सेन्टर र सत्यनाम हस्पिटल प्रालि, लालबन्दीको सहकार्यमा निश्शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको निमित्त गणपति सेनानी पवन विष्टले बताए।
शिविरमा लालबन्दी नगर अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा रामविश्वास राय, मनोरोग विशेषज्ञ डा चन्दन चौधरी, चिकित्सा अधिकारी बिरोचन चौधरी, चिकित्सा अधिकारी डा कुलभूषण शाही र फिल्ड अस्पताल बर्दिबासका परामर्शदाता डा कविता कर्माचार्य, डा भारती यादव, डा सुवेशा अधिकारी, डा गौरव कोइराला, चिकित्सा अधिकारी अनमिका खत्रीले बिरामीहरूको चेकजाँच गरेका थिए। शिविरमा स्त्री तथा प्रसूति रोग, बालरोग, आँखालगायतका रोगहरूको परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू निश्शुल्क वितरण गरिएको थियो।
शिविरमा हाडजोर्नीका ८०, दन्तका ८५, नाक, कान, घाँटीका ७०, मधुमेहका १३, बालरोग २३५, स्नायु तथा मनोरोगी सात, स्त्रीरोगका ८०, भिडियो एक्स–रे ८०, आँखाका ५५ गरी जम्मा ७०८ जनाले सेवा लिएका थिए।
गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका गाउँबस्तीका मानिसहरूलाई लक्षित गरेर नेपाली सेनाको टोलीले निश्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको निमित्त गणपति विष्टले बताए। उनले यस्ता कार्यक्रमले सर्वसाधारण र सेनाबीचको सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गरे।