सनातन हिन्दू संस्कृतिमा सीताको स्थान निकै उच्च रहेको छ । सीतालाई नेपालले आफ्नो राष्ट्रिय विभूतिको रूपमा सम्मान दिएको छ । यसबाट यो स्पष्ट हुन आउँछ कि सीता काल्पनिक पात्र होइन । नेपालको मधेस प्रदेशको राजधानी शहर रहेको जनकपुरमा रहेको जानकीमन्दिर विश्वप्रसिद्ध रहेको छ । जसरी विश्वमा राममन्दिर अहिले प्रसिद्ध रहेको छ । जहाँ रामको चर्चा हुन्छ, त्यहाँ सीताको चर्चा हुन्छ नै । रामको जन्मभूमिको चर्चा हुँदा सीताको जन्मभूमिको पनि कतिपयले चर्चा गर्ने गरेका छन् । जसरी रामजन्मभूमिमा धेरैको मत अयोध्या रहेको छ, यद्यपि चितवन तथा इन्डोनेशिया र भारतकै अन्य ठाउँमा पनि रामको जन्म भएको चर्चाहरू पाइन्छन् । त्यसैगरी, सामान्यतया धेरैको मतमा सीताको जन्मभूमि सीतामढी हो । भारत बिहारको सीतामढी जिल्लाको सीतामढी शहरसँगै सीतामढी रेलवे स्टेशनबाट करीब सात किलोमिटर पश्चिम–दक्षिणमा अवस्थित पुनौराधाम भन्ने ठाउँमा सीताको जन्म भएको मान्यता रहेको छ । श्रुति र शास्त्रीय विश्वास दुवै अनुसार उक्त क्षेत्र, त्यस युगमा, महाराज जनक सीरध्वजको अधीनमा थियो । त्यहाँ उनले हलो जोत्ने क्रममा जमीनबाट सीताको उत्पत्ति भएको विश्वास गरिएको छ । जन्मपछि केही समय त्यहाँ फुसको मढई अर्थात् छाप्रो बनाइएको घरमा सीतालाई राखिएको थियो । सीतालाई मढईमा राखिएकोले उक्त ठाउँको नाम सीतामढी रहन गएको हो भन्ने लोकोक्ति रहेको छ । उक्त समयमा सीता जन्मेको ठाउँ जनकपुर राज्य अन्तर्गत पर्ने भएको र जनकपुर चाहिं राजधानी शहर पनि भएकोले धेरैले जनकपुरलाई नै सीताको जन्मथलो मान्ने गरेका छन् । धेरैलाई जानकारी नहोला, सीतामढी, जुन ठाउँमा मढई बनाएर सीतालाई राखिएको थियो, उक्त स्थानमा पनि जानकीमन्दिर रहेको छ । सीतामढीको प्रसिद्ध तीर्थस्थल हो, जानकीमन्दिर र जहाँ जन्म भएको मानिएको छ, पुनौराधाम, त्यहाँ पनि विभिन्न मन्दिर तथा पोखरीहरू रहेका छन् । उक्त ठाउँलाई पनि सजाइएको छ । बिहारको एउटा धार्मिकस्थलको रूपमा पुनौराधामलाई पनि मानिएको पाइन्छ ।
सीता र जानकी धेरै प्रचलित नाम हुन् । रामसित जोडिएर आउने सन्दर्भका सबैतिर सीताको नाम लिइन्छ भने जब जनकपुरको सन्दर्भ आउँछ, तब जानकी । धेरै ठाउँमा रहेका मन्दिरहरूलाई सीतामन्दिरभन्दा बढी जानकीमन्दिरको नामले प्रसिद्ध हुने गरेको पनि पाइन्छ । जनकपुर र सीतामढीमा रहेका मन्दिरहरू जानकीमन्दिरको नामले प्रसिद्ध हुनु यसका उदाहरण हुन् । हुनत पहिले जनकपुरको जानकीमन्दिरलाई नौलखा मन्दिरको नामले पनि जानिन्थ्यो तर अहिले नौलखा मन्दिरको चर्चा खासै रहेको छैन । सीता र जानकी नामसँगै अलिकति उच्च बौद्धिक व्यक्तित्वहरूले सीतालाई नै बोलाउने गरेको अर्को नाम हो भूमिजा । भूमिजा पनि सीताकै अर्थमैं आउने नाम हो भनिन्छ । भूमिबाट उत्पन्न भएकोले सीतालाई भूमिजा पनि भनिएको हो । जुन नामले बोलाइए पनि मुख्यतः चिन्नु नै हो । जानकी, भूमिजा वा सीताको जन्मको विषयमा सबैले बुझेको कुरो हो कि धरतीबाट प्राप्त भएको हो । विश्वमा अत्यन्तै हार्दिक तथा उच्च सम्मानका साथ सनातन धर्मावलम्बीले श्रद्धा र पूजा गर्ने गरेको सीताको जन्मस्थलको बारेमा खासै धेरै चासो पहिले नरहेको भएपनि अहिले पनि धेरै चासो बढ्दै गएको छ । यससँगै बढ्दै गएको चासो भने जन्मतिथिको पनि हो । जानकीको जन्मतिथिलाई जानकी दिवसको रूपमा मनाउन थालिएको केही वर्ष भइसकेको भएपनि खासमा अझै पनि सर्वसाधारणसम्म यो दिवस पुग्न सकेको पाइँदैन । रामको जन्म दिवसको दिन जुन उत्साह पाइन्छ वा जुन किसिमको तयारी गरिएको हुन्छ, जसरी सामाजिक सञ्जाल तथा मिडियाहरू भरिएका हुन्छन्, त्यसरी जानकी जन्मदिवसमा खासै हुँदैन । सीताको जन्मदिवस वैशाख महीनाको शुक्ल नवमी तिथिमा भएको हो । वास्तवमा यसलाई जन्मदिवसभन्दा पनि प्रादुर्भाव दिवस वा प्राकाट्य दिवसको रूपमा मनाउँदा उचित हुन्छ ।
जानकीको नामप्रति जति श्रद्धा छ, समाजमा जति सम्मान छ, धार्मिक मान्यता छ, यसले जानकीलाई देवीको अवतार मानिन्छ । जानकीलाई भगवती मानिन्छ । साक्षात् उद्धारकर्ता पनि मानिन्छ । जानकीको बारेमा खास केही जान्दै नजानेका सनातनले पनि अति उच्च श्रद्धा व्यक्त गर्छन् । यो संस्कारले पाएको श्रद्धाको संस्कृति हो । यदि जानकीको जीवनलाई राम्ररी नियाल्ने हो भने उनलाई सङ्घर्षको प्रतिमूर्ति मान्न सकिन्छ । हुनत इतिहासले उसलाई मात्र सम्झन्छ, जसले आफ्नो जीवनमा बढी सङ्घर्ष गरेको छ । उदाहरण पनि सँगसँगै छ, जानकीलाई जुन सीरध्वज जनककी पुत्री मानिएको छ, सीरध्वज जनकको छोराको बारेमा खासै कुनै चर्चा गरिएको पाइँदैन । भानुमान वा भानुमन्त नामका छोराको नामोल्लेख पाइन्छ । सीरध्वजका अन्य छोराहरू पनि थिए कि ? यस विषयमा खासै केही उल्लेख पाइन्न । सीरध्वजका उत्तराधिकारी, शिरध्वजपछि राजा बनेका व्यक्तिको बारेमा खासै जानकारी इतिहासलाई नहुनु तर जानकीको बारेमा धेरै जानकारी हुनुले सङ्घर्षले नै मानिसको जीवनलाई अन्यसामु पु¥याउने रहेछ भन्ने स्पष्ट हुन्छ । नारी होओस् कि पुरुष, सबैले सङ्घर्ष गरेकै हुनुपर्छ । जहाँ सबैतिर रामलाई भगवान् भनेर पूजा गरिन्छ, त्यहीं रामकी दिदी शान्ति वा शान्ताको बारेमा कसैले चासो नै राखेको पाइँदैन । जानकीको बारेमा चासो राखेको चाहिं रामको कारण मात्र हो भन्ने भ्रमबाट अलग हुनु जरुरी छ । रामकै दिदीको बारेमा खासै जानकारी नहुनुमा शान्ता वा शान्तिको जीवनमा धेरै कठिन सङ्घर्ष नहुुनु पनि हुन सक्छ । हुनत कठिन सङ्घर्ष गर्ने हरेकलाई इतिहासले सम्झेको छ वा सम्मान गरेको छ नै भन्ने होइन तर समयको कुनै एक बिन्दुमा पनि लागू हुन सक्छ ।
जानकीको जीवनका मुख्य दुई आयाम छन् । यहाँ लौकिक जानकीको चर्चा गरिएको हो । विवाहअघि र विवाहपछि गरी जानकीको जीवनलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ । विवाहअघि हाम्रो समाजमा कोही पनि छोरी सामान्यतया बुबाआमाको पूर्ण संरक्षणमा हुन्छन् । यस समयलाई घरायसी व्यवहार सिक्ने अवसरको अवधि पनि भनिन्छ । जानकीले पिताको घरमा अर्थात् माइतीमा रहँदासम्म सम्मान, संस्कार, संस्कृति र पारिवारिक दायित्व सबै राम्रोसित सिकेको विषयमा पूर्णतया मतैक्य रहेको छ तर जब विवाहपछि अयोध्या पुग्छिन्, तब जीवन नै परिवर्तन हुन्छ । केही समय सुखपूर्वक बिताएपछि रामको वनवास हुन्छ । सीता पनि छायाजस्तै गरी रामसित वनवास जान्छिन् । वनवासमैं रहँदा सीताको अपहरण रावणले गरेको हुन्छ । अपहरण गरेर लगेपछि सीतालाई अपहरणमुक्त गराउन रामले धेरै कठिन सङ्घर्ष गर्नुपरेको हुन्छ । उता जानकीलाई पनि परम दुःख हुन्छ । रावणले धमकी र प्रलोभन सबै दिइरहँदा पनि जानकी आफ्नो अडानबाट टसको मस हुँदिनन् । महारानी बन्न पनि अस्वीकार गर्ने र बारम्बार मृत्युको धम्की आउँदा पनि नडग्ने जानकी नितान्त एक्लो भएको ठाउँमा पनि सङ्घर्ष गरेकी छन् । एक्लो नारीलाई अबला भन्ने गरिन्छ तर जब सीतामाथि त्यहाँ लङ्कामा निकै कष्ट हुन्थ्यो, जब रावणले सीतालाई बलजफ्ती धम्की देखाएर आफ्नो प्रस्ताव स्वीकार गराउन चाहन्थ्यो, तब सीताले एउटा घाँस टिपेर त्यसलाई अगाडि सार्दै आफ्नो हतियार भएको बताउँथिइन् । हुनत यो पनि भनिन्छ कि सीता भूमिजा हो । भूमिबाट उत्पन्न हुने घाँस यसै नातो सीताको भाइ हो, अनि घाँसलाई अगाडि सार्नुको तात्पर्य आफ्नो भाइलाई रक्षाको लागि आह्वान गर्नु हो । रावणले यस कुरालाई राम्ररी बुझेको हुनाले नै जब सीताले तृण उठाउँथिइन्, तब ऊ पछाडि हट्थ्यो ।
जानकीलाई अपहरणमुक्त गराएर ल्याएपछि जब राजतिलक सम्पन्न हुन्छ, तब केही दिनपछि फेरि एउटा अफवाह फैलिन्छ । त्यस अफवाहले गर्दा जानकीले दरबार छोडेर फेरि वनको यात्रा गर्नुपर्छ । वनमा नै उनले दुई सन्तानलाई जन्म दिन्छिन् । अनि यो पनि विश्लेषण गरिन्छ, सीता जमीनकी पुत्री भएकीले महलमा त्यत्ति रहन नपाएकी हुन् र धरतीको समीपमा जति धेरै वर्ष बसे पनि सीतालाई आराम र आनन्दको अनुभूति हुने गथ्र्यो । तर्क आफ्नै हुन सक्छ तर समग्रमा जानकीले गरेको कष्टको फलस्वरूप नै विश्वमा अत्यन्त श्रद्धेय पौराणिक पात्रको रूपमा सीतालाई लिने गरिएको पाइन्छ । महान् त्याग र सङ्घर्षका साथै सहनशील हुुनुपर्छ तर पथभ्रष्ट हुनुहुँदैन भन्ने शिक्षा जानकीको जीवनीबाट पाइन्छ ।