सुग्रीव साह, भिस्वा, २८ वैशाख/
छिपहरमाई गाउँपालिकाको सहयोगमा युवा समाज भिस्वाद्वारा आयोजित मेयरकप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रवार दुईवटा खेल सम्पन्न भए ।
आज भएको पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गर्दै सखुवाप्रसौनी गापाले सबै विकेट गुमाएर ११२ रन बनाएको थियो । यो खेल १६ ओभरको खेलाइएको आयोजक कमिटीका मनोज पटेलले बताए । प्रतिउत्तरमा विन्ध्यवासिनी गापाले १६ ओभरमा छ विकेट गुमाएर ११५ रन बनाइ जीत हासिल ग¥यो । यस खेलको ‘म्यान अफ दी म्याच’ विन्ध्यवासिनी गापाका सुरेश यादव घोषित भए ।
दोस्रो खेलमा कालिकामाई गापाले धोबिनी गापालाई ३२ रनअन्तरले पराजित ग¥यो । पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा कालिकामाईले सबै विकेट गुमाएर १५८ रन बनाएको थियो । प्रतिउत्तरमा धोबिनी गापा सबै विकेट गुमाएर १२६ रनमा सीमित भयो । दोस्रो खेलको ‘म्यान अफ दी म्याच’ कालिकामाईका निमेश पटेल घोषित भए । भोलि शनिवार पनि दुईवटा खेल हुनेछन् । पहिलो खेल भिस्वा र पकाहामैनपुर गापाबीच हुनेछ भने दोस्रो खेल छिपहरमाई गापा र वीरगंज महानगर–२६ अठराहा सुगौलीबीच हुने आयोजक कमिटीका मनोज पटेलले बताए । मेयरकप टी–२० क्रिकेट प्रतियोगिता वैशाख २५ गतेदेखि शुरू भएको हो । उद्घाटनको दिन पानी परेपछि खेल स्थगित भएको थियो र आजदेखि शुरू भएको हो ।