मार्सेली (फ्रान्स), २७ वैशाख/एएफपी
स्वागत समारोहका लागि भव्य थ्री–मास्ट जहाजमा आइपुगेको एक दिनपछि मसालवाहकहरूले फ्रान्सको दक्षिणी बन्दरगाह शहर मार्सेलीका सडकमा ओलम्पिक ज्वाला बोक्नेछन् ।
पेरिसमा जुलाई २६ मा ओलम्पिक खेलकूदको उद्घाटन समारोहसम्ममा ४५० भन्दा बढी शहर हुँदै करीब १० हजार मसालवाहकले मुलुकभर ११ साताको यात्रा शुरू गर्नेछन् ।
सन् १९९० को दशकमा मार्सेली टीमबाट खेल्ने पूर्वफूटबल खेलाडी बेसिल बोलीले बिहीवारको पहिलो रिले नोट्रे डेम डे ला गार्डे बेसिलिकाबाट सुरुआत गर्नेछन् ।
बास्केटबल खेलाडी टोनी पार्करले बिहीवारपछि रिलेमा आफ्नो पालो लिनेछन् । मसाल बोक्नका लागि एक तरवारबाज च्याम्पियन, एक स्केटबोर्डर, एक मिसेलिन–ताराङ्कित सेफ र एक हास्य अभिनेतालाई पनि छनोट गरिएको छ ।
मार्सेलीका उत्साही फूटबल प्रशंसकहरूको घर प्रसिद्ध स्टेड वेलोड्रोमको छतमा मसाल लैजानका लागि सहभागीहरूले शहरको सबैभन्दा प्रतीकात्मक स्थानहरूमार्पmत दिनभरि दौडने तालिका छ ।
शहरले बुधवार ओलम्पिक ज्वालाको आगमनको खुशियाली धूमधामसँग मनायो । मार्सेलीका मेयर बेनोइट पायनले ओल्ड पोर्टमा दुई लाख ३० हजारभन्दा बढी मानिस समारोहमा सहभागी भएको बताए ।
“यो अविश्वसनीय र जादुमय छ, हामीलाई यसको आवश्यकता थियो, हामीसँग मार्सेलीमा यस्तो प्रकारको घटना वा सुन्दर चीजहरू कहिल्यै हुँदैनन्,” मार्सेलीका बासिन्दा अमेल सेकोले भने ।
“यो यस्तो चीज हो, जुन तपाईंले आफ्नो जीवनमा कम्तीमा एकपटक अनुभव गर्नुपर्छ… हामीसँग सूर्य र ओलम्पिक ज्वाला छ,” मार्सेलीका अर्का बासिन्दा मौना बौल्हासले भने ।
खेलहरूको समयमा मार्सेलीमा नौकायान प्रतियोगिता र केही फूटबल खेल आयोजना हुनेछन् । रासस