प्रस, रौतहट, २६ वैशाख/
बाग्मती पुल निर्माण गर्ने ठेकेदारले काम छाडेर भाग्न थालेपछि स्थानीयले ठेकेदारको सवारीसाधन नियन्त्रणमा लिएकोमा बुधवार फिर्ता गरेका छन् ।
हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय वीरगंजको सो पुल निर्माणको लागि ठेकेदारलाई डिजाइन प्रदान गरेपछि ठेकेदारले काम शुरू गर्ने प्रतिबद्धता जाहेर गरेको स्थानीयले वैशाख २४ गते नियन्त्रणमा लिएको सवारीसाधन र निर्माण सामग्री ठेकेदारलाई फिर्ता गरेका हुन् ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, वीरगंजले ६९ करोड ९८ लाख लागतमा पुल निर्माणको ठेक्का महालक्ष्मी/विकास/वाइपी जेभी जनकपुर, धनुषाले हिजो डिजाइन दिएको र काम शुरू गर्ने ठेकेदारले प्रतिबद्धता जाहेर गरेका थिए । यस अघि ठेकेदारले लामो समयदेखि डिजाइन नपाएर काम अगाडि बढाउन नसकेको भनेर वैशाख २४ गते पुल निर्माण सामग्रीहरू लैजान खोज्दा स्थानीयले सवारीसाधन नियन्त्रणमा लिएको थियो ।
१३ वर्ष अगाडि पप्पु कन्स्ट्रक्शनले ठेक्का निर्माणको जिम्मेवारी लिएको थियो । उसले जिम्मेवारी पूरा गर्न नसकेपछि ठेक्का रद्द गरेर महालक्ष्मी/विकास/वाइपी जेभी जनकपुर, धनुषालाई जिम्मेवारी दिएको थियो । ६३४ मिटर लम्बाइको पुल निर्माणसम्बन्धी सम्झौता २०७९/०१/११ मा भएकोमा २०८१/१०/०७ मा निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरेको थियो । अहिलेको ठेकेदारले पुलसम्म जाने सडक निर्माण गर्दा बलौटे माटोको प्रयोग गरेको कारण सो सडकखण्ड बिग्रिएको छ । आधा अधूरो काम पूरा गर्नको लागि स्थानीयले विभिन्न चरणमा आन्दोलन गर्नुका साथै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छन् । तर पनि यो पुलको निर्माण १३ वर्षदेखि पूरा हुन सकेको छैन ।