प्रस, रौतहट, २६ वैशाख/
मौलापुर नगरपालिकाको वडा नं ९ मा पिकनिक पार्कको पर्खाल निर्माण कार्यमा व्यापक अनियमितता भइरहेको छ । पिकनिक पार्क पर्खाल निर्माणमा दुई नम्बरको इँटा, बोल्डरको साटो गिटी प्रयोग भइरहेको वडा नं ९ का अध्यक्ष श्यामकिशोर साहले आरोप लगाएका छन् ।

रु २५ लाखको लागतमा निर्माण भइरहेको पर्खालमा बालुवा बढी सिमेन्ट थोरै मात्रामा प्रयोग गरी गुणस्तरहीन कार्य भइरहेको वडाअध्यक्ष साहले बताए । उपभोक्ता समिति गठन गर्ने अधिकार वडालाई रहे पनि मौलापुर नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले नगरपालिकाबाट उपभोक्ता समिति गठन गरी अनियमितता कार्य गरेको उनले आरोप लगाए ।

सरोकारवाला स्थानीयवासीको सहभागितामा वडा भेलाबाट उपभोक्ता समिति गठन नगरी मनपरी तथा नियम कानूनलाई मिचेर उपभोक्ता समिति गठन भएको उनले बताए ।

खोलाको किनारमा पर्खाल बनाइरहँदा खोलाको कटान तथा बाढी प्रकोपलाई सहन सक्ने पर्खालको निर्माण हुनुपर्नेमा कमसल पर्खाल निर्माण भइरहेको वडाध्यक्ष साहले गुनासो गरे ।

यस सम्बन्धमा मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबू साहले केही बताउन चाहेनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here