प्रस, वीरगंज, २४ वैशाख/
स्वतन्त्र मानव अधिकार समाजले सोमवार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
समाजका सभापति कृष्णकुमार खनालको संयोजकत्वको टोलीले प्रजिअ भुसाललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।
वीरगंज भन्सार कार्यालयमा सशस्त्रका प्रहरीहरूले चेकजाँचको नाममा कडा घाममा एक घण्टा जति लाइनमा उभ्याएर नागरिकहरूलाई सास्ती दिएको भन्दै सहजताको लागि प्रजिअको ध्यानाकर्षण गराएको छ ।
यसैगरी, नारायणी उपक्षेत्रीय अस्पतालमा समयमैं उपचारको लागि गएका बिरामीहरूले सम्बन्धित चिकित्सक भेट्न नसकेको, जिल्ला प्रशासन कार्यालयमा हुने सामाजिक गतिविधिको सम्बन्धमा समाजका पदाधिकारीहरूलाई पनि समयमैं सूचना सम्प्रेषण गर्न र नारायणी अस्पतालमा रात्रिको समयमा आकस्मिक कक्षमा चिकित्सक उपलब्ध हुनुपर्ने माग गरिएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल १३ नं गणका प्रहरी नायब उपरीक्षक चन्द्रकुमार थापा, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चितरञ्जन साह, नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ता, नारायणी अस्पतालका अनमी हेमा थापालगायतको सहभागिता थियो ।
टोलीमा समाजका उपसभापति नन्दीकिशोर यादव, महासचिव दीपक साह कानू, सचिव आशिष कुमार, कोषाध्यक्ष उर्मिला कुशवाहा, सहकोषाध्यक्ष रामभरोस यादव, केन्द्रीय सदस्य सोनालाल गुप्ता, लालबाबू गुप्ता, सुन्दरकुमार चौधरीलगायत सहभागी थिए ।