बलिराम शुक्ला, बिरुवागुठी, २४ वैशाख/
पर्सागढी नगरपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतको स्वागत गरिएको छ । नगरप्रमुख गोकर्ण पाठकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिकिशोरप्रसाद चन्द्रवंशीलाई स्वागत गरिएको थियो ।
चैत १ गते पर्सागढीमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले चैत २८ गतेसम्म कार्यभार सम्हालेका र उनको सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयमा सरुवा भएपछि जिल्ला प्रशासन कार्यालय, बारामा प्रशासकीय अधिकृत रहेका चन्द्रवंशी बढुवा भई सङ्घीय मामिला तथा प्रशासन मन्त्रालयबाट पर्सागढीमा आएका हुन् ।
प्रप्रअ राजवंशीको स्वागत गर्दै नगरप्रमुख पाठकले जनप्रतिनिधि र कर्मचारीहरूको सहयोगबाट मात्र पर्सागढीको मुहार फेर्न सकिने बताए । उनले कुनै पनि शाखाको कार्यमा सेवाग्राहीहरूलाई दुःख नदिन कर्मचारीहरूलाई निर्देशन दिए ।
प्रमुख प्रशासकीय अधिकृत चन्द्रवंशीले कार्यभार सम्हाल्दै सुशासनलाई ध्यानमा राखी कानून अनुसार जनप्रतिनिधि र कर्मचारी हातेमालो गरी अगाडि बढ्ने बताए ।
कार्यक्रममा पर्सागढी नपा–४ र ९ का अध्यक्ष शेख खुर्शेद, रामबढाईप्रसाद यादवलगायतको सहभागिता थियो । कार्यक्रममा स्वागत प्राविधिक शाखा प्रमुख जङ्गविजय साह र सहजीकरण स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख नारायणप्रसाद पौडेलले गरेका थिए ।