कास्की, २४ वैशाख/रासस

फूटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फूटबल खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकूद सङ्घको अवार्ड प्रदान गरिने भएको छ ।

नेपाल खेलकूद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गरेको आठौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड–२०८०’मा सहारालाई सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको मञ्चले जनाएको छ ।

छैटौं संस्करणसम्म यस विधा अन्तर्गतको अवार्ड खेलसम्बन्धी सङ्घलाई मात्र प्रदान गरिंदै आएकामा सातौं संस्करणदेखि खेल सङ्घ वा क्लबमध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

विसं २०५५ भदौमा ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौं’ नाराका साथ स्थापित क्लब स्वदेशसँगै विदेशसम्म फैलिएको छ ।

स्थापनादेखि उक्त क्लब निरन्तर खेलकूद र सामाजिक कार्यमा क्रियाशील रहँदै आएको छ । विसं २०५६ मा पृथ्वीचोकमा सार्वजनिक शौचालय निर्माण गरेर सामाजिक कार्यको सुरुआत गरेको क्लबले विसं २०५७ मा ‘सहारा कप’ क्लबस्तरीय ‘लिग कम नकआउट फूटबल’ प्रतियोगिता सञ्चालन गरेको थियो ।

विसं २०५८ मा ‘क्याराभान गोल्डकप फूटबल’ प्रतियोगिता आयोजना गरेको क्लबले त्यसपछि प्रत्येक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा गोल्डकप फूटबल प्रतियोगिता आयोजना गरिरहेको छ । हालसम्म २३औं संस्करण सम्पन्न भइसकेको छ ।

पोखरा तथा यस आसपासमा फूटबल खेलतर्पmको रौनकता बढाउन यो प्रतियोगिताले महŒवपूर्ण भूमिका खेल्दै आएको छ । असहज समयमा समेत यस प्रतियोगितालाई निरन्तरता दिएकोले क्लब फूटबल खेलको क्षेत्रमा अब्बल क्लबको रूपमा आफूलाई स्थापित गर्न सफल भएको छ ।

सहाराले विसं २०६९ देखि सहारा फूटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । एकेडेमीमार्पmत क्लबले अनाथ तथा असहाय बालबालिकालाई पालनपोषणका साथमा फूटबलसमेत सिकाउँदै आइरहेको छ ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट खेलकूद सङ्घसंस्था वा क्लबसँगै, वर्ष उत्कृष्ट प्रशिक्षक, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दिनानाथ बरालले जानकारी दिए ।

यसैगरी, मञ्चले सर्वाेत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक/एक थान टेलजी इलेक्ट्रिक स्कूटर प्रदान गर्ने जनाएको छ । साथै अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही रु ३५/३५ हजार प्रदान गरिने मञ्चले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here