काबुल, २४ वैशाख/एएनआई

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तीमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्यूजले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण १४०  आवासीय घर क्षतिग्रस्त भएका छन् भने दुई हजारभन्दा बढी गाईवस्तुको मृत्यु भएको छ ।

टोलो न्यूजका अनुसार विगत तीन दिनमा वर्षाका कारण लगभग १४ जना नागरिकको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । बाढीले आवासीय घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्  ।

यसैबीच, सार्वजनिक निर्माण मन्त्रालयका प्रवक्ता मोहम्मद अशरफ हक्कसेनसले अफगानिस्तानका बदख्सान, तखर, घोर र नुरिस्तान प्रान्तका केही सडकहरू भूस्खलन र बाढीका कारण अस्थायीरूपमा अवरुद्ध भएको बताएका छन् ।

“बाढी र भूस्खलनका कारण अस्थायीरूपमा बन्द गरिएका तखर, बदख्सान, घोर र नुरिस्तान प्रान्तका धेरै सडक खुलाउने काम भइरहेको छ”– उनले बताए ।

निरन्तर भारी वर्षा भइरहेको कारण स्थानीय बासिन्दाले धेरै नोक्सानी बेहोरेका छन् ।

बाढीमा परेर बालबालिकाको मृत्यु, जमीन र पुलहरू नष्ट भएको फराह प्रान्तका एकजनाले बताए । बाढीबाट भएको जनधनको क्षति तत्काल सम्बोधन गर्न सरकारसमक्ष स्थानीयवासीले आग्रह गरेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here