प्रस, वीरगंज, २१ वैशाख/
नेकपा (एमाले) पर्सा जिल्ला कार्यसमितिको नवौं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयन पाँचौं दिन पनि हुन सकेन । वैशाख १७ गते बिपी उद्यान, रातो बङ्गलामा उद्घाटन भएको अधिवेशनको बन्दसत्रको दोस्रो, तेस्रो, चौथो दिन क्लासिक ब्याङ्कवेटमा भएको थियो ।
चौथो दिन उम्मेदवारी दर्ता र अध्यक्ष्Fसहित सयजना जति जिल्ला कमिटी सदस्य निर्विरोध निर्वाचित भएपनि तीनजना पदाधिकारीसहित २७ पदमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । आज सोही कार्यतालिका अनुसार बिहान ११ बजेदेखि बसपार्कपछाडि रहेको अनमोल पार्टी प्यालेसमा निर्वाचन हुने समय तोकिएको थियो । तर एक पक्षले निर्वाचनसम्बन्धी प्रक्रियामा त्रुटि रहेको भन्दै निर्वाचनमा अवरोध सिर्जना गरेको थियो ।
आज ११ बजे तोकिएको निर्वाचन यही विषयलाई लिएर दिनभरि विवाद भयो । दिउँसो अर्को पक्षले निर्वाचन गराउनुपर्ने भन्दै नाराबाजी गरेको थियो । अध्यक्षमण्डल र निर्वाचन अधिकृतहरूविरुद्ध नाराबाजी गर्दै अविलम्ब चुनावको माग गरेका थिए । त्यसपछि ३ः३० बजे निर्वाचन प्रक्रिया शुरू गर्ने तयारी भएको थियो । त्यसमा पुनः एक पक्षले विवादको टुङ्गो नलगाएको भन्दै निर्वाचनमा अवरोध गरेको थियो ।
निर्वाचन कार्यालयमा प्रयोग हुने प्रFविधिक सामानहरू तोडफोड गरिएको थियो । सोविरुद्ध अर्को पक्षले बचाउ गरेपछि दुवै पक्षबीच झडप भएको थियो । झडपसँगै सशस्त्र र जनपद प्रहरीले पार्टी प्यालेसमा विवाद सुल्झाउने प्रयास गरेको थियो । त्यसपछि दुवै पक्षबीच होहल्ला भइरह्यो तर निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेन । निर्वाचनका लागि भनेर गाउँगाउँबाट आएका एमाले कार्यकर्ताहरू नेताहरूको आपसी विवाद र निर्वाचन कार्यालयको ढिलासुस्तीले निराश भएका थिए ।
उनीहरूले कामकाज छाडेर चार दिनदेखि चुनाव प्रक्रियामा सहभागी हुनुपरेको तर चुनाव नभएकोले आफूहरू निराश भएको बताए । एमालेजस्तो पार्टीले अनुशासनविपरीत चार दिनसम्म निर्वाचन प्रक्रिया लम्ब्याएको, एकापसमा मारपिट गरेको, निर्वाचन कार्यालयका सामान तोडफोड गरेको जस्ता कार्यले कार्यकर्ताहरू निराश देखिएका थिए ।
एमाले अधिवेशनमा ५८५ जना मतदाता छन् भने १२७ सदस्यीय जिल्ला कार्यसमिति छ । अहिले तीनजना पदाधिकारी, वीरगंज महानगर, पर्सागढी नगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाबाहेक ११ वटा पालिकाबाट जिल्ला सदस्यहरू चयन भइसकेका छन् । एमाले पर्साको नवौं अधिवेशन १६ वर्षपछि भइरहेको हो । २०६४ पछि अधिवेशन हुन सकेको छैन र तदर्थ समितिको नाममा संयोजकहरूबाट जिल्ला कमिटी सञ्चालन हुँदै आएको छ ।