नितेश कर्ण, वीरगंज, १८ वैशाख/
तराई–मधेसका पोखरी तथा जलाशयहरू सुक्न थालेका छन् । अत्यधिक गर्मीका कारण पोखरीमा पानीको सतह घट्न थालेपछि माछाहरू धमाधम मन थालेका छन् ।

सर्लाही जिल्लामा सबैभन्दा बढी माछा उत्पादन हुने चन्द्रनगर गाउँपालिकामा करीब तीन हजार हेक्टर पोखरीमा माछापालन हुने गरेको छ । उक्त गापामा प्रतिदिन ६० क्विन्टलभन्दा बढी माछा उत्पादन हुने गरेको छ ।

सिजनमा प्रतिदिन रु २० लाखसम्मको माछा निर्यात हुने चन्द्रनगरका माछापालक कृषकहरू अहिले पोखरी सुकेर माछाहरू मर्न थालेपछि निकै चिन्तित छन् । त्यसले माछाको उत्पादन ह्वात्तै घटेको कृषकहरू बताउँछन् ।

बढी आम्दानीका लागि धान, गहुँलगायतका बाली फल्ने जग्गामा पोखरी खनेर माछापालन गरेका कृषकहरू यतिबेला पोखरी सुक्न थालेपछि निराश भएको माछापालक किसान दुलार मुखियाले बताए । तीन महीनाअघि पोखरीमा हालेको माछा तीन सयदेखि आठ सय ग्रामसम्म पुग्न लाग्दा सबै माछा मरेको कृषक मुखियाले बताए ।

उनले माछाहरू टाउको, पखेटा र पुच्छरमा रातो भएर छटपटाउने, सुस्त हुने र मर्ने गरेको बताए ।
बिक्रीका लागि तयारी अवस्थामा पुगेका माछाहरू मरेपछि ठूलो आर्थिक समस्या परेको स्थानीय कृषकहरूले गुनासो गरेका छन् ।

त्यसैगरी, सर्लाही जिल्लाका नदीहरूमा समेत पानी सुकिरहेको छ । माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी समुदाय माछा मार्न नपाएपछि वैकल्पिक रोजगारको खोजीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here