प्रस, वीरगंज, १७ वैशाख/
जिल्ला प्रहरी कार्यालय, पर्साले गोली प्रहार गरी एकजना भारतीय अपराधीलाई पक्राउ गरेको जनाएको छ । जिप्रका, पर्साले सोमवार पत्रकार सम्मेलन गरी आइतवार राति वीरगंज–१६ भुटनदेवी सडकखण्डबाट भारत, बिहार, पूर्वी चम्पारण, रक्सौल बस्ने ४५ वर्षीय बब्लु पासवान भन्ने गणेश कुमारलाई लागूऔषध र हतियारसहित पक्राउ गरेको दाबी गरेको छ ।

आइतवार राति ११ः०० बजे भारतबाट बिआर०५एएल ६१३९ नम्बरको मोटरसाइकलमा चढेर बब्लु नेपाल आउँदै गरेको सूचनाको आधारमा प्रहरीले उनलाई वीरगंज–१६ भुटनदेवी मन्दिरअगाडि सडकखण्डबाट पक्राउ गर्न खोज्दा बब्लु भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको बताएको छ । एउटा गोली बब्लुको खुट्टामा लागेपछि उनलाई पक्राउ गर्न सफल भएको जिप्रका, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

बब्लुको नारायणी अस्पतालमा उपचारपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ । उनको साथबाट ‘मेड इन युएसए’ लेखिएको पेस्तोल एक थान, दुई राउन्ड गोली, खैरो हेरोइन ४९ ग्राम र गाँजा ८८० ग्राम बरामद भएको प्रवक्ता थापाले बताए । उनका अनुसार बब्लु आपराधिक क्रियाकलापमा संलग्न रहँदै आएका छन् । २०७३ जेठ १३ गते बाराको महागढीमाई नगरपालिका–१ पसाहा पुलनजीकैबाट वीरगंज निवासी सुरेश केडियालाई अपहरणमुक्त गरिएको थियो । सो अपहरणको मुख्य योजनाकार बब्लु रहेको प्रहरीले दाबी गरेको छ ।

यसैगरी, २०७९/०६/०३ गते काठमाडौं गोठाटारस्थित लाल महमदको हत्यामा पनि बब्लु संलग्न रहेको प्रहरीले दाबी गरेको छ ।

बब्लुले भारतमा बसेर नेपालका विभिन्न स्थानमा अपहरण गर्न लगाउने, साना हतियार तथा लागूऔषधको कारोबार गर्ने, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने तथा उद्योगी–व्यवसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा नदिए ज्यान मार्ने धम्की दिंदै आएको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here