हाम्रो देशबाट आजभोलि धेरै किसिमका मानिस पलायन भइरहेका छन् । पलायन हुनेमा शारीरिक र मानसिक श्रम गर्ने मानिस पनि छन् । सामान्यतया श्रमलाई यही दुर्ई आधारमा विभाजन गरिएको पाइन्छ । मानसिक श्रम गर्ने र शारीरिक श्रम गर्नेगरी दुवै किसिमका मानिस पलायन भइरहँदा नवयुवा तथा किशोरहरूमा पनि पलायनवादी मानसिकता विस्तार भइरहेको छ । किशोरहरूको मनोविज्ञानमा पनि कुनै देशमा गएर केही गर्ने सोचले स्थान पाउँदा पलायन हुने समूहमा विद्यार्थी पनि थपिएका छन् ।
नेपालबाट विदेश गएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या निकै ठूलो भइसकेको छ । जो अध्ययनका लागि विदेश जान्छन्, तिनीहरूमध्ये कति प्रतिशत घर फर्कन्छन् होला ? यो आप्mनै किसिमको समस्या छ तर जब कोही घर फर्कन्छन् र ऊ कुनै ग्रामीण क्षेत्रको बासिन्दा हो भने उसलाई आफ्नो अध्ययन क्षेत्रको काममा लाग्न प्रोत्साहन गर्नेभन्दा घर फर्केर आएकामा गुनासो गर्ने तथा विदेशमै बसेर केही गरेको भए नाम र दाम पनि हुन्थ्यो भन्ने कुरा बताउनेको सङ्ख्या बढी हुन्छ । यसबाट समाजमा विदेश पलायनको मनोविज्ञान अति सामान्य भइसकेको छ । यसको चपेटमा बौद्धिक जगत पनि परेको छ । बौद्धिक जगत् अर्थात् मानसिक श्रम गर्ने मानिसहरूका पनि यस किसिमको नकारात्मक सोच विकास भइसकेको छ कि यहाँभन्दा विदेश नै राम्रो छ । यस किसिमको सोच घातक हो, देश र समाजको विकासको बाधक हो ।
विदेश पलायन सोचले स्वदेशमा रहुञ्जेल उसको क्रियात्मक तथा सिर्जनात्मक दृष्टिकोणमा प्रभाव पारेको हुन्छ र अरूलाई पनि आफ्नो निराशाले निराश बनाइरहेको हुन्छ । अरूलाई पनि अप्रत्यक्ष वा परोक्ष रूपमा विदेशको लागि दुरूत्साहित गरिहेको हुन्छ । वास्तवमा यस किसिमको सोच वा दृष्टिकोणलाई पलायन गरिनु आवश्यक छ ।
बुद्धिजीवीको काम हो– बौद्धिक काम गर्नु । यदि कुनै क्षेत्रमा अबौद्धिक मानिसको अभाव छ र त्यहाँ यदि बौद्धिक गतिविधि हुन सकेको छैन वा बुद्धिको अभावमा कुनै नकारात्मक प्रभाव पर्ने काम भइरहेको छ भने त्यहाँ बौद्धिक किसिमले तर्क दिएर त्यसलाई सही तरिकाले काम सम्पादन गर्न सहयोग गर्नु । जहाँ बुद्धिजीवीहरूले आफ्नो भूमिका बिर्सन्छन् त्यहाँ समाजले चाहेको जस्तो मात्र हुन थाल्छ । यो कुनै जरूरी छैन कि समाजले सबै राम्रो नै गरेको हुन्छ । जहाँ अज्ञानता र जहाँ केवल पलायनवादी सोच छ, त्यहाँ सबैभन्दा पहिले अज्ञानताविरूद्ध ज्ञानको चेतना फैलाउनु उचित हुन्छ र पलायनले समाजमा पार्ने दीर्घकालीन प्रभावबारे विमर्श थाल्नुपर्छ । पलायनले समाजमा तत्कालको लागि फाइदा पुगेको जस्तो लागे पनि वास्तवमा समाजमा फाइदा पुग्दछ कि त्यसले अन्ततः बेफाइदा पुग्दछ, यसवारे समाजमा मै बहस जरूरी छ । अहिलेको यो एउटा विशिष्ट आवश्यकता बनेको छ ।
हाम्रो सामाजिक विशिष्टता, उच्च शिक्षितको सन्दर्भमा, यस्तो बन्न पुगेको छ कि जो शिक्षित छ, ऊ चाहिं घरभन्दा बाहिर हुनुपर्छ । शिक्षित चाहिं गाउँँमा बस्नु हुँदैन र अझ यदि विदेशमा जान्छन् भने त्यो निकै राम्रो । गाउँमा बसेका अनपढले पनि विदेशमा श्रम बेचेर राम्रो आर्थिक प्रगति गर्दछन् भने घरमा रहेका बौद्धिक मानिस सर्वसाधारणको नजरमा कमजोर मानिन्छन् । तिनको नजरमा बुद्धिको बिक्री विदेशमा गर्नुपर्छ अर्थात् बौद्धिक पलायन नै बौद्धिक काम हो । यस किसिमको पलायनवादी मनोविज्ञानमाथि विजय पाउनु अहिले सामाजिक आवश्यकता भइसकेको छ । जसले जे भने पनि यस प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकिंदैन तबसम्म हाम्रो समाजले वास्तविक अर्थमा विकास गर्न धेरै काम गर्नुपर्ने हुन्छ । भौतिक विकास त त होला, भौतिक संरचनाले निरन्तर विस्तार पाउला तर पलायनवादी सोच रहिरह्यो भने यहाँ सबै कुरा ठिकठाक रहँदारहँदै पनि यहाँको रहेका सबै सुन्दर भवन तथा अन्य संरचना त्याग गरेर, माया मारेर र बिर्सेर गइदिन बेर लाग्दैन । विदेशमा गएर स्वदेशको गुनगान गर्नु र स्वदेशको माया लागेको बताउनु अहिले आम प्रवृत्ति भइसकेको छ ।
कतिपयको विश्लेषण के रहन्छ भने आम नागरिकमा बुद्धिजीवीहरूकै कारण अरू सर्वसाधारण र बुद्धिजीवीहरू पलायन भइरहेका छन् । बुद्धिजीवीहरूमा निराशा रहेको छ र बुद्धिजीवीहरूले आफ्नो असन्तुष्टि तथा निराशा समाजमा पस्किने गरेको कारण समाजका अन्य साधारण वर्गमा निराशाको विस्तार भएको हो । साधारण वर्गमा निराशाको विस्तार हुँदा साधारण मानिस विदेश पलायनलाई विकल्पको रूपमा लिएका हुन् । यससँगै आउने अर्को आरोप हो कि एउटा बुद्धिजीवी वा शिक्षित मानिसले आफ्नो निराशा अन्य बुद्धिजीवी वा शिक्षितमा सारेका हुन् ।
बढी उमेर भएका शिक्षितले कम उमेर भएका मानिसका अगाडि आफ्नो निराशाको अभिव्यक्ति दिंदा नयाँ उमेरका शिक्षित मानिसमा विदेश पलायनको सोच छिटै आउने गरेको छ । अर्थात्, बौद्धिक व्यक्तिŒवको पलायनमा बौद्धिक व्यक्तित्वकै हात बढी हुने गरेको छ । समान तहका बौद्धिक व्यक्तित्वले जब कतै विशेष काम गरेर विदेशमा यहाँको तुलनामा विशिष्ट पैसा तथा सम्मान आर्जन गर्दछन् भने एक किसिमको ग्लानी अनुभव हुन्छ र ग्लानिको प्रस्फुटन कतै हुँदा त्यसले पलायनलाई सहयोग गर्ने निश्चित छ । वा कहिलेकाहीं यसरी समान स्तरका दुर्ई मानिसको प्रगति समाजको अन्य सोही स्तरका व्यक्तिले देखेर मूल्याङ्कन गर्दछन् तब तिनमा यही पलायनवादी मनोविज्ञानले बढी काम गर्न थाल्दछ । जहाँ मानसिकतामा नै पलायनवादी भूत सवार हुन्छ त्यहाँ भने सानोतिनो कामलाई राम्रो नमानिन पनि सक्छ वा यहाँको राम्रो नाम, काम तथा दाममा पनि हीनताबोध अनुभूति गर्न थाल्दछ । यही घातक प्रवृत्तिमाथि, समाजमा विजय पाउनु अहिलेको आवश्यकता भइसकेको छ ।
बौद्धिक पलायनमा दुर्ई किसिमको प्रवृत्ति देखिएको छ– शरीरले पलायन र मानसिकताले पलायन । शरीरले पलायन हुनुभन्दा मानसिकताले पलायन हुनु बढी घातक देखिएको छ । शरीरले पलायन भएकाहरूमध्ये केही विदेशबाट पनि स्वदेशको लागि गर्न खोजेका छन् तर मानसिकताले पलायन भइसकेकाहरू भने घरमै बसेर पनि वा स्वदेशमै रहेर पनि खासै सकारात्मक काम नगर्ने तर सधैं नकारात्मक कुरा गरेर, नकारात्मक तर्क दिएर, नकारात्मक तथ्यहरू दिएर अरूको कार्य क्षमता तथा क्रियाशीलता र मनोविज्ञानमा पनि नकारात्मकता भरी मानसिक रूपमा पलायनको विकार भर्दछन् । हो, पलायनवादी दृष्टिकोणलाई पलायन गर्नु अत्यन्त आवश्यक भइसकेको छ । पलायनवादी दृष्टिकोणले पलायनवादी दृष्टिकोणलाई विस्तार गरिरहेको छ जसले गर्दा बौद्धिक पलायन निरन्तर बढिरहेको छ । बौद्धिक पलायन भइरहँदा यसलाई संरक्षण गर्नतिर खासै कुनै पहल भइरहेको व्यवहारमा देखिएको छैन । बौद्धिक पलायनले समाजमा बौद्धिक व्यक्तिŒवको अभाव हुने सम्भावनालाई झन् विस्तार गरिरहेको छ । अबको समयमा बौद्धिक व्यक्तिŒवको पलायनलाई रोक्नु परेको छ । यसले गर्दा बौद्धिक सम्पत्तिको संरक्षण हुन सक्छ । जहाँ बौद्धिक व्यक्ति रहन्छ त्यहाँ नै बौद्धिक क्रियाकलाप हुन्छ ।
बौद्धिक क्रियाकलापले नै सामाजिक चेतनामा विस्तार ल्याउँछ । सामाजिक चेतनाको विस्तारले देशको सम्मान बढ्दछ । अहिलेको अवस्थामा बुद्धिजीवीहरू गाउँमा बस्न नचाहने र गाउँबाट निस्केर शहरमा पुगेका बुद्धिजीवीहरूको सम्बन्ध गाउँबाट विच्छेद हुन्छ तब सोझै विदेशतिर अवसरको खोजी हुन थाल्छ । विदेशतिर अवसरको खोजीमा रहेकाले कुनै विधिले आफ्नो अनुकूल वातावरण बनाएर छोड्छन् र अन्तमा विदेशमा पुग्ने गन्तव्यलाई पूरा गरिछाड्छन् । अबको समयमा विदेशलाई जीवनको अन्तिम लक्ष्य बनाउन नहुने भन्ने किसिमको वातावरणको निर्माण गर्नु उचित हुन्छ । किन मानिस पलायन भइरहेका छन् ? यस विषयमा गम्भीर अध्ययन गरी रोक्नको लागि कदम नचाली भएको छैन ।
तीन तहको सरकारले बौद्धिक पलायनलाई रोक्न बौद्धिक क्रियाकलापलाई अगाडि बढाउनु जरूरी छ । भौतिक पूर्वाधारको क्षेत्रमा पर्याप्त लगानी भइरहेको छ । अबको समयमा बुद्धिजीवीलाई तिनको योग्यता र दक्षताको सम्मान हुने वातावरण बनाउनु आवश्यक भइसकेको छ । हैन भने मानिस पढ्दै र विदेश पलायन हुँदै गर्ने छन् जसलाई रोक्नु जरूरी छ । अहिलेको बौद्धिक जगत्को धरातकलै आधारका देशमा भविष्यको बौद्धिक व्यक्तिŒव निर्माण गर्नुपर्ने हुनाले देशका बुद्धिजीवीहरूको सम्मानले धेरै हदसम्म समस्या समाधान हुने सम्भावनालाई स्पष्ट पर्दछ । एकले सम्मान पाउँदा अर्कोलाई प्रोत्साहन प्राप्त हुन्छ । यसर्थ बौद्धिक व्यक्तिŒवको पलायनलाई रोक्न बौद्धिक सम्पदाको संरक्षण गर्नुपर्छ । विदेश पलायन हुँदा व्यक्ति मात्र गएको हुँदैन, साथमा उसले आफ्नो मानसिकता अर्थात् बुद्धिसमेत लगेको हुन्छ ।