प्रस, निजगढ, ११ वैशाख/
दुई महीना यतादेखि अत्यधिक गर्मीसँगै सुक्खा बढेपछि प्यासले भौंतारिने वन्यजन्तु तथा चराचुरुङ्गीलाई राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन एकाइ कार्यालय, भरतपुरले केही राहत दिएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज आधाभारको अमलेखगंजस्थित तीनकुवा पोखरी क्षेत्रमा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिले पुरानो पोखरीलाई मर्मत, सुधार, निर्माण गरेसँगै पोखरीमा पानी सङ्कलन हुन थालेको र त्यसले निकुञ्ज क्षेत्रको वनजङ्गल, राष्ट्रिय वन, सामुदायिक वनमा रहेका वन्यजन्तु तथा चराचुरुङ्गीहरूलाई राहत दिलाएको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले अघिल्ला वर्षहरूमा पोखरी मर्मत, सम्भार गरे पनि सुक्खायाममा पोखरीमा पानी सङ्कलन हुन सकेको थिएन । त्यहाँको भौगोलिक बनावट गहिरो भिरालो भएर पनि पोखरीमा पानी नअडिंदा पोखरी मासिन पुगेको थियो ।
हामी शुरूमा त्यहाँ जाँदा पोखरीमा पानी नभएर झाडी बुट्यानले ढपक्कै ढाकेको थियो । पोखरी लगभग मासिएको अवस्थामा थियो । यस अघि निकुञ्ज कार्यालयले प्रयास गरेको तर सफलता पाउन नसकेको जानकारी पाएपछि पोखरी मर्मत, सम्भार, निर्माण कार्य यस कार्यालयले शुरू गरेको राष्ट्रपति चुरे कार्यालयका प्रमुख श्यामबाबू लोप्चनले जानकारी दिए ।
“प्राविधिक हिसाबले हामीले सफलता पाउन सक्छौं कि सक्दैनौं भनी प्राविधिक टोलीले स्थलगत अध्ययन गरी प्रयास कार्य अघि बढाएका हौं । आखिरमा सफलता पायौं । अहिले पोखरीमा पर्याप्त पानी छ । बाँदर, लङ्गुर, विभिन्न प्रजातिका चराचुुरुङ्गीहरू पानी खाने र पानीमा रमाइरहेका देख्यौं । यसले हामी धेरै खुशी छौं,” प्रमुख लोप्चनले भने ।
“पोखरीको डिल वरपर हरिण, मृग, चित्तल, बँदेल जस्ता जङ्गली जनावर पानी खान आउने गरेका तिनीहरूको पाइलाका डोबहरू देखिएपछि खुशी र आनन्दको सीमा नै रहेन । हाम्रो लगानी खेर गएन । वन्यजन्तुु, चराचुुरुङ्गीहरूलाई निकै राहत मिलेको प्रत्यक्ष देख्न र बुझ्न पाइयो,” प्रमुख लोप्चनले भने ।
आर्थिक वर्ष २०८०/८१ को बजेटबाट नौ लाख ५१ हजार ९१३ रुपियाँ ५७ पैसा लागत अनुमान गरी चुरे भावर क्षेत्रमा जलपुनर्भरण पोखरी निर्माण कार्यक्रम अन्तर्गत सो कार्य गरिएको राष्ट्रपति चुरे कार्यालयका सबइन्जिनीयर अनिलकुमार सिन्हाले जानकारी दिए । अम्लेश्वर उपभोक्ता समिति अमलेखगंजमार्फत कार्यालयले सो कार्य अघि बढाएको राष्ट्रपति चुरे कार्यालयले जनाएको छ ।
जसमा दुई हजार १९२ वर्गमिटर क्षेत्रफलमा एक्साभेटर प्रयोग गरी पोखरी मर्मत, सुधार, आवश्यकता अनुसार तारजालीको बाँध निर्माण, थप चिम्ट्याइलो माटोको प्रयोगलगायतका आवश्यक अन्य कार्य गरी सफलता पाएकोे सबइन्जिनीयर सिन्हाले खुुशी हँुुदै बताए ।
पोखरी निर्माणपछि पोखरीमा पानी सङ्कलन भएकोले वन्यजन्तु, चरा चुरुङ्गीहरूलाई सुक्यायाममा निकै राहत मिलेको र यसले वन्यजन्तुहरू पानीको खोजीमा भौंतारिंदै गाउँबस्ती आउने क्रम रोकिने सम्भावना रहेको पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख रामचन्द्र खतिवडाले बताए । भौगोलिक हिसाबले पनि निकुञ्ज क्षेत्र भावर क्षेत्रमा रहेकोले फागुनदेखि जेठ महीना यस निकुञ्जका अधिकांश क्षेत्रमा पानीको निकै समस्या हुने गरेको प्रमुख खतिवडाले बताए ।
हामी सानो छँदा जङ्गलमा गोठाला आउँदा यस ठाउँ सिमसार जस्तै पानीको जरुवा थियो । धेरैपटक यहींको पानी पातमा राखेर पिएका थियौं । त्यही ठाउँ अहिले सुक्खा भएछ । अहिले राष्ट्रपति चुरे कार्यालयले पोखरी खनेर पानी निस्किएपछि निकै खुुशी लागेको अमलेखगंजका स्थानीय विकास श्रेष्ठले बताए ।
यस तीनकुवा पोखरी क्षेत्रमा निकुञ्जले यसअघि करीब ३५ फिटभन्दा अग्लो सिमेन्टेड मचान निर्माण गरी सोलार प्यानलसमेत जडान गरेको छ । जसबाट यस पोखरीमा पानी खान आउने वन्यजन्तु, चराचुरुङ्गीलाई सुरक्षित तवरले अवलोकन गर्न सकिन्छ ।