प्रस, वीरगंज, २६ चैत/
नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पताल वीरगंजको प्रयोगशालामा मिति गुज्रेका केमिकलहरू बरामद भएपछि सो कलेजका सञ्चालक शाहनबाज अन्सारी र प्रयोगशाला प्रमुख सञ्जय साह पक्राउ परेका छन् ।

वीरगंज महानगरपालिका अन्तर्गत उपप्रमुख इम्तियाज आलम संयोजक रहेको बजार व्यवस्थापन तथा अनुगमन समितिको अगुवाइमा सोमवार कलेजको प्रयोगशालामा छापामारी गरिएको थियो । छापामारीको क्रममा प्रयोगशालाको फ्रिजमा मिति गुज्रिएका केमिकलहरू बरामद भएको बजार व्यवस्थापन तथा अनुगमन समितिका विपिनलाल दासले बताए ।

उनले प्रयोगशालाबाट मिति सकिएका ३३ थरीका केमिकलहरू बरामद भएको बताए । बरामद केमिकलहरू नियन्त्रणमा लिएको र प्रयोगशालामा नयाँ केमिकलहरू प्रयोग गर्न निर्देशन दिएको बताए । छापामारीमा औषधि व्यवस्था कार्यालय, वीरगंजका ओम जयसवाल, जिल्ला प्रशासन कार्यालय, पर्साका ब्रह्मदेव यादव, वाणिज्य तथा उपभोक्ता कार्यालय वीरगंजका दिलीप खङ्ग, कार्यपालिका सदस्य कन्हैया प्रसाद, घरेलु तथा साना उद्योग कार्यालय, जनपद र सशस्त्र प्रहरी, नगरप्रहरीलगायतको सहभागिता थियो ।

पक्राउको जिम्मेवारी लिनबाट सबै पञ्छिदै
वीरगंज महानगरपालिकाको अगुवाइमा भएको छापामारीको यो घटनामा अहिले सो कार्यालयले मिति सकिएको औषधि बरामद भएको कलेजलाई कुनै दण्ड, जरिवाना गरेको छैन । महानगर बजार व्यवस्थापन तथा अनुगमन समितिका विपिनलाल दासले पहिलोपटक भएकोले जरिवाना नगरिएको बताए ।

उनले प्रयोगशाला बन्द गर्दा स्वास्थ्य सेवा प्रभावित हुने देखेर नयाँ केमिकल प्रयोग गर्न निर्देशन गरिएको बताए । तर यो घटनामा कलेजका सञ्चालक अन्सारी र प्रयोगशाला प्रमुख साह पक्राउ परेकोमा उनले प्रहरी कारबाही भनेका छन् । उनले घटनामा औषधि व्यवस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयको कानून प्रभावित हुने र सोहीअनुरूप ती कार्यालयहरूले कारबाही गर्नुपर्ने बताएका छन ।

औषधि व्यवस्था कार्यालय वीरगंजका अधिकृत ओम जयसवालले महानगरको नेतृत्वमा प्रयोगशालामा छापामारी गरिएकोले उसको कार्यक्षेत्र र जिम्मेवारी भएको बताएका छन् । आफ्नो कार्यालयले औषधिसम्बन्धी कसूरमा कारबाही गर्ने र प्रयोगशाला आफ्नो अधिकार क्षेत्रमा नपर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले आफ्नो कार्यालयको काम शान्ति सुरक्षा दिने मात्र भएको बताए । सोही अनुसार कार्यालयबाट प्रतिनिधिका रूपमा सुरक्षाकर्मी पठाएको तथा महानगर र औषधि व्यवस्था कार्यालयको कानून प्रभावित हुन सक्ने बताए । उनले सञ्चालक अन्सारी र प्रयोगशाला प्रमुख साह प्रहरी नियन्त्रणमा रहेको तर त्यसको दायित्व आफ्नो कार्यालयले लिन नसक्ने बताए ।

नेशनल मेडिकल कलेज एवं शिक्षण अस्पताल वीरगंजका अध्यक्ष डा जैनुद्दीन अन्सारीले प्रयोगशालामा भेटिएको त्रुटिको जिम्मेवार सञ्चालक हुन नसक्ने दाबी गरेका छन् ।

उनले प्रयोगशाला प्रमुख साहलाई आफूले शुरूदेखि मिति सकिएका केमिकल १५ दिनअघि नै स्टोरमा जम्मा गरी फिर्ता गर्ने प्रक्रिया अपनाउन निर्देशन दिंदै आएको र त्यसमा उसको कसूर देखिए उसलाई कारबाही गर्नुपर्ने तर्क गरे ।

उनले प्रमुख साहले सञ्चालकको सहभागिता जनाएको भए सञ्चालक अन्सारी पक्राउ पर्नु जायज भएपनि अहिले नाजायज तरीकाले पक्राउ गरिएको र यसबाट कलेजको बदनामी भएको
बताए ।

डा अन्सारीले आफ्नो प्रयोगशालामा अटोएनालाइजर मेशीन रहेको र सो मेशीनले मिति सकिएको केमिकल स्वीकारै नगर्ने दाबी गर्दै लापरवाहीका कारण ती केमिकलहरू फ्रिजमा रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here