ओमप्रकाश चौधरी, सेढवा, २६ चैत/
पर्सा राष्ट्रिय निकुञ्ज, आधाभार तथा तराई भूपरिधि कोहलपुर, बाँकेको सहकार्यमा मानव–वन्यजन्तु समझदारी अभिवृद्धि चेतनामूलक व्यवहार परिवर्तनका लागि सञ्चार कक्षा शुरू गरिएको छ ।
ठोरी गाउँपालिका–५ सुवर्णपुरका चार स्थानमा सोमवारदेखि कक्षा शुरू भएको छ । सुनाखरी उपभोक्ता समिति सुवर्णपुरका अध्यक्ष भीमबहादुर पाख्रिनको अध्यक्षतामा शुरू भएका कक्षामा सखुवाटी प्रावि छिरिङलाइन, बाल प्रतिभा प्रावि गडुवालाइन, आठघरे र ठूलो बाघमोर्चामा कक्षा सञ्चालन भइरहेका छन् । चारैवटा कक्षा सञ्चालन केन्द्रमा १३ वर्षमाथि उमेर समूहका ३०/३० जनाको सहभागिता रहेको सुनाखरी उपभोक्ता समिति सुवर्णपुरका सचिव जीवन श्रेष्ठले बताए । १० दिने कक्षामा सुस्तिका गिरी विष्ट, गोपाल श्रेष्ठ, सुशीला बोमजन र बेनिशा लोप्चनले प्रक्षिक्षण दिने सचिव श्रेष्ठले बताए । मानव–वन्यजन्तु समझदारी, व्यवहार परिवर्तन र वन्यजन्तु तथा जैविक विविधता संरक्षणसम्बन्धी जानकारीहरू आदानप्रदानको उद्देश्यले कक्षा सञ्चालन गरिएको सुनाखरी उपभोक्ता समितिका सचिव श्रेष्ठले बताए ।