प्रस, सर्लाही, २६ चैत/
सर्लाहीको बसबरियामा सोमवार बिहान आगलागी भएर ११ वटा घर जलेर नष्ट भएको छ ।
बसबरिया गाउँपालिका–३ भवानीपुर दलितबस्तीमा आगलागी भएको र ११ वटा घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए । उनले बिहान ११ बजेदेखि लागेको आगलागी नियन्त्रणका लागि दुई घण्टा लागेको र क्षतिको विवरण सङ्कलन भइरहेको बताए । उनले छवटा घर पूर्णरूपमा र पाँचवटा घर आंशिकरूपमा जलेको बताए । आगलागी नियन्त्रणमा जनपद र सशस्त्र प्रहरी, स्थानीयवासी तथा हरिवन र मलङ्गवा नगरपालिकाका दुईवटा वारुणयन्त्र परिचालन भएका थिए ।
सर्लाहीमा २० वटा पालिका छन् तर मलङ्गवा र हरिवन नगरपालिकाबाहेक अरू कुनै पालिकाहरूसँग वारुणयन्त्र छैन । जबकि यो जिल्लामा आगलागीका घटना अत्यधिक हुने गरेको छ ।