नितेश कर्ण, २६ चैत/
लामो राजनीतिक खिंचातानीपछि सर्लाही जिल्ला चन्द्रनगर गाउँपालिकाको १३औं गाउँसभा आइतवार सम्पन्न भएको छ ।
गाउँकार्यपालिका सदस्यहरूबीच सहमति भएपछि हिजो गाउँसभा सम्पन्न भएको हो । असार १० गते सम्पन्न गर्नुपर्ने गाउँसभा गाउँकार्यपालिका सदस्यहरूबीचको मनमुटावका कारण हुन सकेको थिएन । नौ महीनापछि गाउँसभा सम्पन्न भएको हो ।
गाउँसभाले आव २०८०/८१ को लागि रु ५९ करोड ३० लाख ५९ हजार ७६९ को बजेट पारित गरेको गापाध्यक्ष राजकुमार महतोले बताए ।
गापाध्यक्ष महतोसँग स्पष्ट बहुमत नहुँदा उपाध्यक्षसहितका कार्यपालिका सदस्यहरूले विभिन्न माग राखेर गाउँसभामा हुन दिएका थिएनन् । गाउँसभा नहुँदा विकास निर्माणलगायतका कामहरू अवरुद्ध भएका थिए । ढिलो भएपनि अब विकासको कामले गति लिने अध्यक्ष महतोले बताए ।