प्रस, वीरगंज, २४ चैत/
त्रिभुवन आर्मी क्लब जीतपुरसिमरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिवारदेखि शुरू भएको सो गोल्डकपमा त्रिभुवन आर्मी क्लबले वीरगंज युनाइटेड क्लबलाई पराजित गरेको हो ।

घरेलु दर्शकको साथ पाएको वीरगंजले सुरुआती अग्रता जोगाउन नसकेपछि प्रतियोगिताबाट बाहिरिएको हो । वीरगंजका लागि फागुराम चौधरीले खेलको ४१औं मिनटमा पेनाल्टीमार्फत अग्रता बनाएका थिए । आर्मीका डिफेन्डर सुरज बस्नेतले वीरगंजका फागुरामलाई डिबक्सभित्र फाउल गरेपछि फिफा रेफ्री उमेश बिडारीले वीरगंजलाई पेनाल्टी दिएका थिए ।

आर्मीका कमल थापाले पहिलो हाफमैं बराबरी गोल फर्काएपछि आर्मीका समर्थक खुशी भए । खेलको ४४औं मिनटमा सुरज बस्नेतको कर्नर बललाई पेनाल्टी एरियामा सम्हाल्दै कमलले सुन्दर गोल गर्दै टीमलाई बराबरीमा ल्याए ।

दोस्रो हाफमा वीरगंजविरुद्ध आर्मीले सुरुआती अग्रता लियो । खेलको ६१औं मिनेटमा आकर्षक फ्री किक गोल गर्दै आर्मीका दिनेश हेम्जनले टीमलाई अग्रता दिलाए । करीब २२ यार्ड परबाट दिनेशले प्रहार गरेको फ्री किकलाई वीरगंजका गोलरक्षक प्रमिजय गच्छदारले रोक्ने सकेनन् ।

सुरुआती अग्रता उल्टिएपछि आक्रामक बनेको वीरगंजका लागि फागुराम चौधरीले व्यक्तिगत दोस्रो गोल गर्दै बराबरीमा ल्याए पनि जीतका लागि पर्याप्त बन्न सकेन । खेलको ८२औं मिनेटमा आर्मीका गोलरक्षक विकेश कुथुलाई बिट गर्दै फागुरामले काउन्टर अट्याकमा गोल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा आर्मीका लागि फतेमान घलेले निर्णायक गोल गरे । वीरगंजका डिफेन्डरहरूको गलतीको सुदुपयोग गर्दै फतेमानले दिनेश हेम्जनको क्रस बललाई सहजै गोलमा परिणत गरे ।

खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका दिनेश हेम्जन घोषित भए । उनले शुभारम्भ कलेजले प्रयोजन गरेको १० हजार नगदसहित ट्रफी प्राप्त गरे । आइतवार साबिक विजेता चर्च ब्वाइज युनाइटेड र सिराहाको सलहेस युवा क्लबका बीचमा खेल हुनेछ ।

यसअघि सिमरा रङ्गशालामा आयोजित उद्घाटन समारोहमा युवा तथा खेलकूद मन्त्री विराजभक्त श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरेका थिए । कार्यक्रममा एन्फा महासचिव किरण राई, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेललगायतले प्रतियोगिता सफलताको शुभकामना दिएका थिए । आयोजक क्लबले उद्घाटन समारोहका अवसरमा जीतपुरसिमरा उपमहानगरभित्रबाट फूटबलको विकासमा योगदान पु-याएका खेलाडी तथा अन्य गरी १७ जनालाई सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here