प्रस, वीरगंज, २२ चैत/
नेकपा एमाले बारा जिल्ला कार्यसमितिको नयाँ नेतृत्व चयनका लागि तीन दिनसम्म भएको सहमतिको प्रयास विफल भएपछि निर्वाचनबाट नयाँ पदाधिकारी, सदस्यहरूको चयन हुने भएको छ ।

यही चैत १९ गते सोमवार एमाले बाराको ११औं अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । सोही दिनदेखि हिजो बुधवारसम्म तीन दिन सहमतिका लागि गरिएको प्रयास विफल भएपछि हिजै उम्मेदवारी दर्ता प्रक्रिया सकिएको थियो ।

बारा एमालेमा अहिले तीनवटा समूह निर्वाचनमा होमिएका छन् । एउटा समूहको नेतृत्व टीना सुवेदीले गरेकी छन् भने अर्को दुईवटा समूहको नेतृत्व अध्यानन्द पाण्डे र अनिल मैनालीले । सुवेदी समूहबाट उपाध्यक्ष भुलन चौधरी, सचिव अमृत बजगाईं, सहसचिव खुल्लामा जवाहिर अन्सारी र महिलामा भावना आचार्यको उम्मेदवारी परेको छ ।

यसैगरी, पाण्डे समूहबाट उपाध्यक्ष नारायण गौतम, सचिव एम समिउल्लाह, सहसचिव खुल्लामा धनी राम र महिलामा कमला घिमिरेको उम्मेदवारी परेको छ । यसैगरी, अर्का समूह मैनालीबाट उपाध्यक्ष भिखारी साह, सचिव मखन पासवान, सहसचिव खुल्लामा इन्द्रदेव महतो कोइरी र अमृतलाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

बुधवार सम्पन्न उम्मेदवारी दर्तापछि बिहीवार निर्वाचन गरिने तयारी गरिएको थियो तर मतपत्र छपाइ नभएको कारण भोलि शुक्रवार निर्वाचन हुने भएको हो । बारा एमालेमा ७३५ जना मतदाता छन् र १२५ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here