प्रस, सेढवा, २२ चैत/
पर्साको ग्रामीण भेगमा धानपछि दोस्रो मुख्यबाली गहँु कटानी किसानहरूले शुरू गरेका छन । विशेषगरी जमीनको माथिल्लो भूभागमा रहेका जीराभवानी गाउँपालिकामा पर्ने शान्तिनगर, भवानीपुर, वसन्तपुर, हरैया, सखुवनिया, शङ्करसरैया, पटेर्वासुगौली गापाको उत्तरी क्षेत्रमा गहुँ कटानी शुरू भएको छ ।
किसानहरूले हार्भेस्टर मेशीनको प्रयोग गरी गहुँबालीको कटानी गरी गहुँ भिœयाउन थालेका छन् । जीराभवानी गापा–५ हरैयाका किसान रेवती घिमिरेले तीन दिन अघिदेखि गहुँ कटानी शुरू भएकोे बताए । उनले आफूले गरेको गहुँखेती गत वर्षको तुलनामा कम उत्पादन भएको बताए । उनले आफूबाहेक अन्य किसानहरूको गहुँ उत्पादन भने बढेको बताए । उनले यसपालि किसानहरूले प्रतिकट्ठा १२० देखि १६० किलो गहुँ उत्पादन गरेको बताए ।
जीराभवानी गापा–२ सेढवाका किसान प्रदीप दासले अबको तीन दिनपछि गहुँबाली काट्ने बताए । गहुँको बालामा दाना छिपिने समयमा पानी परेको हुँदा पोटिलो र कसिलो भएको र यसपालि गत वर्षको तुलनामा गहुँ उत्पादन बढेको बताए ।
उनले गहुँको उत्पादन बढे पनि मूल्य भने घटेको बताए । अहिले व्यापारीहरूले तीन हजार नौ सय रुपैयाँ प्रतिक्वीन्टलमा गहुँ खरीद गरिरहेको उनले बताए । गत वर्ष चार हजार दुई सय रुपैयाँ प्रतिक्वीन्टलमा गहुँको बिक्री शुरू भएको थियो ।