वाशिङ्टन, १४ चैत/सिन्ह्वा
अमेरिकाको मेरिल्यान्ड शहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किंदा बेपत्ता भएका छजनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ ।
दुर्घटना भएको १२ घण्टाभन्दा बढी भइसकेकोले बेपत्ता निर्माण श्रमिक पानीमा जीवित पाउने सम्भावना क्षीण रहेको भन्दै अमेरिकी सामुद्रिक सुरक्षा गार्डले खोजी र उद्धार कार्य स्थगित गरेको छ ।
पानीको तापक्रम अधिक चीसो रहेको र खराब सामुद्रिक मौसमबीचमा बेपत्ता व्यक्तिहरू जीवित भेटिने सम्भावना नरहेको रियर एडमिरल श्यानन गिलरेथले पत्रकार सम्मेलनमा बताए ।
क्षतिग्रस्त २.६ किलोमिटर लामो इन्टरस्टेट–६९५ पुलमा सिङ्गापुरको ध्वजावाहक कन्टेनर पानीजहाजले ठक्कर दिएपछि पुल मर्मतमा खटिएका करीब २० जना कामदार पानीमा फसेको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको थियो ।
स्रोतका अनुसार दुर्घटनामा बेपत्ता भएका सबै व्यक्ति सडक मर्मतसम्भारमा खटिएका कामदारहरू थिए ।
पाटापस्को नदीबाट यसअघि अन्य दुईजनालाई उद्धार गरिएको थियो, जसमध्ये एकजनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरूले बताएका छन् ।
उक्त पुल सन् १९७७ मा यातायात सहजताको लागि निर्माण गरिएको र प्रत्येक वर्ष लगभग एक करोड १५ लाख सवारीसाधन यस पुलबाट आवतजावत गर्ने गरेको स्रोतले जनाएको छ । रासस