दिनेश मिश्र, वीरगंज, ९ चैत/
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले पोखरिया नगरपालिकाको विकासका लागि आफू लागिपरेको बताएका छन् ।
नगरपालिकाले आयोजना गरेको होलीमिलन कार्यक्रममा नगरप्रमुख चौहानले एमालेको साथमा नयाँ समीकरणको सरकार गठन भएपछि आफू पोखरियाको विकासका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, कृषिमन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री बलिराम अधिकारी, एशियाली विकास बैंकका प्रमुख नरेश गिरीलगायतसँग छलफल गरेको बताए ।
उनले पोखरियाकोे विकासका लागि सबैले आश्वस्त पारेको जानकारी गराए । हामी पोखरियाको विकासका लागि निरन्तर प्रयासमा छौं, विकासको कुरा एकैपटक सम्भव पनि नहुने बताउँदै उनले आफूले गरेका वाचाहरू पूरा हुने बताए । उनले होली पर्वलाई सभ्य र भव्य तरीकाबाट मदिरारहित मनाउन आग्रह गरे ।
उनले आपसी भाइचारा, सद्भाव बनाएर कसैसँग वैमनस्यता नराखी रङ्गको पर्व होली मनाउन आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख रूबी ठाकुर, निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तव, प्रशासन तथा योजना प्रमुख सञ्जय पाण्डे, शिक्षा शाखा प्रमुख विजय झा, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारीहरूको सहभागिता थियो ।