सुग्रीव साह, भिस्वा, १० चैत/
सशस्त्र प्रहरीले भारतबाट भित्रिएका बोइलर कुखुरा भिस्वा नाकाबाट बरामद गरेर नष्ट गरेको छ ।
भारतको सिकटाबाट ल्याएको ८० थान (२५० किलो) बोइलर कुखुरा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वाले बरामद गरेको सशस्त्र प्रहरी भिस्वाका इन्चार्ज दीपकराज बस्नेतले बताए । उनले सरोकारवालाहरूको रोहबरमा बरामद बोइलर कुखुरा खाल्डो खनेर पुरी नष्ट गरिएको बताए ।
भारतको सिकटामा जिउँदो बोइलर कुखुरा प्रतिकिलो भारु ११० मा पाइन्छ । मासु भने भारु १५० प्रतिकिलोमा पाइन्छ । भिस्वाको बजारमा भारुमा कारोबार हुने गरेको छ र सिकटाभन्दा प्रतिकिलो भारु १० बढी लिएर बिक्री गरिन्छ । भारतीय बजारमा बोइलर कुखुरा नेपालभन्दा निकै सस्तोमा बिक्री हुँदै आएकोले त्यहाँ उत्पादित बोइलर कुखुरा चोरबाटो नेपाल भित्रिने गरेको हो । पर्साका अन्य पालिकाहरूमा बोइलर कुखुराको मासु प्रतिकिलो रु ३५० सम्म पर्छ । भारतमा प्रतिकिलो रु २४० मा पाइने हुनाले बोइलर कुखुरा र मासु भारतबाट तस्करी गरिन्छ ।
राति ठूलो परिमाणमा बोइलर कुखुरा तस्करी गरी नेपाल भित्रिने गरेको छ । सीमामा रहेका सशस्त्र र जनपद प्रहरीको मिलेमतोमा कुखुराको तस्करी हुँदै आएको छ । तर देखाउनका लागि भने बिहान सानातिना व्यापारीहरूले ल्याउने बोइलर कुखुरा बरामद गर्ने, मानिस र सवारीसाधन लेनदेनमा छाड्ने र बोइलर कुखुरालाई सरोकारवालाहरू राखेर नष्ट गर्ने गरिन्छ ।