प्रस, पोखरिया, १० चैत/
ग्रामीण पत्रकार समाज पर्सा र आकाश एफएमको आयोजनामा शनिवार पोखरियामा होलीमिलन समारोह तथा घैला फोड कार्यक्रम सम्पन्न भएको छ ।
पोखरिया नगरपालिकाका प्रमुख प्रद्युम्न चौहानले होलीमा घैला फोड कार्यक्रमले मधेसको संस्कृति र परम्परा झल्किने बताउँदै यसबाट छुट्टै किसिमको मनोरञ्जन हुने बताए । उनले पोखरियामा घैला फोड कार्यक्रम आफ्नो कार्यकालमा पहिलोचोटि गरिएको भन्दै आयोजकलाई धन्यवाद दिए । उनले यो कार्यक्रमलाई निरन्तरता प्रदान गर्ने आश्वासन पनि दिए ।
ग्रामीण पत्रकार समाज पर्साका अध्यक्ष धर्मेन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वनगरप्रमुख दीपनारायण रौनियार, वडाध्यक्षहरू लछुमन साह कानू, नौशाद आलम, गोवर्धन यादव, आशादेवी चौहान, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
घैला फोड कार्यक्रममा ५२ जना सहभागी थिए भने १५ जनाले घैला फोडेका थिए र उनीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा सुदीप चौरसियाले स्वागत र सुरेन्द्र सिंहले सहजीकरण गरेका थिए ।