• सञ्जय साह मित्र
अहिले मौसम सुख्खा छ । गत असोजदेखि नै पानी नपरेको हुनाले यसपटक अहिलेसम्म पानीको कारण धेरै क्षेत्रमा नकारात्मक प्रभाव परेको छ । उदाहरणको लागि मसुरो बालीमा निकै ठूलो क्षति भएको छ भने तोरी बालीमा पनि निकै धेरै नकारात्मक प्रभाव परेको छ । गहुँजस्तो खाद्यान्न बालीमा पनि नकारात्मक प्रभाव परेको छ । पानी नपर्दा मसुरो सुकेको र फस्टाउन नपाएको देखिएको छ भने असमयमैं मसुरोको झार सुकेर उत्पादन निकै कम भएको छ वा हुने निश्चित छ । यसैगरी गहुँ बालीमा राम्ररी दाना नलाग्दै सुक्न थालेको छ । यसको अर्थ हो जुन गहुँ–खेतमा एकपटक सिंचाइ गरिएको छ, त्यस खेतको दाना तुलनात्मकरूपमा कम पोटिलो देखिन्छ । सानो हुन्छ । असमयमैं गहुँ पाकेकोजस्तो हुन्छ । असमयमैं पाकेको गहुँ भनेको उत्पादन कम हुनु हो । कृषिको अन्य क्षेत्रमा पनि उत्पादन घटेको हुँदा किसानलाई घाटा भएको छ ।
कृषिमा मात्र नभएर अलिकति वनतिर विचार गरौं । यसपटक वर्षा नहुँदा वसन्तको शुभागमनको समयमा जति हरियाली हुनुपर्ने हो त्यति हुन सकेको छैन । जताततै डढेलो लागेको खबर आइरहेको छ । वर्षा भएको भए डढेलो यति लाग्दैनथ्यो । डढेलोले वनको नयाँ घाँसपात र साना पोथ्रालाई हानि त पु¥याउँछ नै, पहिलेदेखि नै पानी नपरेको हुनाले वनमा बिरुवा मर्ने दर पनि बढी हुन्छ । यति मात्र होइन, वनका जीवजन्तुलाई पनि निकै प्रभाव पार्छ । वनभित्र विचरण गर्ने विभिन्न पशुचौपायाले सानातिना खोला, खोल्सी तथा पोखरी र तलाउहरूमा पानीको मात्रा कम भएको तथा सुकेको कारण निकै समस्या बेहोर्नुपरेको यथार्थ पनि बुझ्नु परेको छ । गत वर्ष भएको सुख्खाको सम्झना हुन्छ । गत वर्ष वन्यजन्तुको लागि विभिन्न ठाउँमा स्थानीय तहहरूले पानी खानयोग्य खाल्टो खनेका थिए । अर्थात्, गत वर्ष पनि सुख्खा भएको थियो र अहिले पनि सुख्खा नै हुने लक्षण देखिएको छ । धेरै ज्येष्ठ नागरिकहरूको विचारमा यसपटक जाडो त निकै धेरै भयो नै, अपेक्षाभन्दा निकै पहिले र निकै गर्मी पनि अहिले नै अनुभूति हुन थालेको छ ।
गर्मी र पानीबीच अन्तरसम्बन्ध हुन्छ भन्ने कुरो घामझैं छर्लङ्ग छ । धेरै वर्ष भएको छैन । कोरोनाले विश्व आक्रान्त हुँदाको दुई वर्ष अत्यन्त पीडादायी थियो । तर त्यस वर्ष पानी निकै परेको थियो । अहिलेको जस्तो सुख्खा थिएन । सुख्खा नभएको मात्र होइन, मौसम नै निकै अनुकूल बनेको थियो । यसले कोरोना सकारात्मक हो भन्न खोजिएको चाहिं होइन । ती दुई वर्षमा मौसममा देखिएको अनुकूलताको सम्झना मात्र गर्न खोजिएको हो । मौसम कति राम्रो थियो । वैशाख लागिसक्दा पनि मानिसले अहिलेको जति गर्मी महसुस गरेका थिएनन् । वैशाख लाग्नासाथ सर्वसाधारणले वर्षाको अनुभूति गरेका थिए । त्यस वर्ष वैशाखदेखि नै पानी पर्न थालेको थियो र असार–साउनमा राम्रै पानी परेको थियो । मौसममा यति छिटै र यति धेरै परिवर्तन आइरहेको छ कि अहिले नै गर्मी निकै चर्किइसक्यो । गर्मी चर्कनुको मुख्य कारण पानी नपर्नु हो र पानी नपर्नुको कारणले गत वर्षजस्तै यस वर्ष पनि जमीनमुनिको पानीको सतह अझ तल जाने डर देखिएको छ । गत वर्ष धेरै ठाउँको चापाकलमा पानी आउन छोडेको थियो । कतिपय पोखरी तथा नदी र खोला सुकेका थिए । धारामा पनि पानी आउन बन्द भएको थियो । जमीनमुनि नै पानीको सतह अझ तल जाँदा पानीबारे निकै बहस भएको थियो । पानी नपर्नुको कारणबारे चर्चा भएको थियो । निवारणको उपायबारे पनि बहस चलिरहेको थियो तर अहिले मूल्याङ्कन गर्ने समय आएको छ कि प्रगति के कति भएको छ ?
किन यसरी सुख्खा भइरहेको छ भन्ने विषयमा धेरै किसिमका तर्क छन् । ती तर्कहरू यहाँ बहसमा ल्याउनु जरूरी छैन तर तर्क र बहसले मानिसको निजी भूमिकाको पनि अपेक्षा गर्छ । सबै दोष राज्यकै हो भन्ने होइन । राज्यले नै सबै कुरो गरिदिनुपर्छ भन्ने सोच राख्ने हो भने हामी आप्mनो जिम्मेवारीबाट भागेको ठहर्छ । आपूmले आफैंलाई ठगेको साबित हुन्छ । पानीको स्रोत कम हुँदै गएको यदि हामीलाई जानकारी छ भने के पानीको मुहान बचाउन हामीले कुनै भूमिका खेल्यौं ? जमीनमुनिको पानीको उपयोग गरिरहेका छौं भने जमीनमुनि पानीको सतह कम हुँदै जाँदा यसको कारण बुझ्ने प्रयास ग¥यौं ? यसरी कारणको खोजी ग¥यौं भने यसलाई कसरी सुरक्षित पार्न सक्छौं र जमीनको पानी अझ तल जान जान नदिन के कस्तो उपाय अवलम्बन गर्नुपर्छ भन्ने विषयमा गम्भीरतापूर्वक छलफल र बहस चलायौं ? साँच्चीकै जमीनमुनिको पानीको सतह कम हुँदै जानु र आकाशबाट पनि अपेक्षाकृत पानी नपर्नु दुवै कारणले जमीनको सतहमा गर्मी बढेको हो, सुख्खा बढेको हो र यसको प्रभाव जीवनको धेरै क्षेत्रमा परिरहेको हामीले अनुभव गरिरहेका छौं । अबको समयमा पानीबारे गम्भीरतापूर्वक विचार गर्नुपरेको छ र हामीले जमीनमुनिको पानीको दोहन मात्र गर्ने होइन, अपितु जमीनमुनिको पानीको सतह जोगाउनको लागि जमीनलाई पनि उत्तिकै पानी दिनुपरेको छ । यदि हामीले जमीनलाई पानी दिदैनौं र जमीनबाट पानी झिकि मात्र रहन्छौं भने निश्चित नै जमीनमुनिको पानी कम हुँदै जान्छ र हामी जमीनमाथि बस्ने प्राणी तथा वनस्पतिलाई असर परिरहन्छ । यस प्रकारको असरबाट पृथ्वीलाई जोगाउन सम्भव भएसम्म सचेतनाको विस्तार गर्दै सम्भव भएसम्म जमीनलाई पानी दिनुपरेको छ र दिइरहनुपरेको छ ।
जमीनलाई पानी दिने विषयमा पहिले पनि छलफल भइसकेको छ । हामीले पहिले नाला बनायौं र घरको पानी सबै नालामा पठाइदिन थाल्यौं । घरमा सोख्ता बनाएनौं । आँगन र छत सबैको पानी तथा दैनिक उपभोग गरेको सबै पानी सोझै नालामा जान थाल्यो र नालाबाट पानी पुग्न थाल्यो खोलामा । खोलाले पानी समुद्रसम्म पु¥याउन थाल्यो । घर आँगनको पानी पहिले जुन जमीनमा पर्दथ्यो र त्यो पानी जमीनले सोस्ने गर्दथ्यो, त्यस बाटोलाई नै हामीले रोकिदिएका छौं । गाउँमा पनि जताततै ढलान भयो । हरेक घर आँगनमा ढलानको एकल राज्य स्थापित भइसक्यो । अनि जमीनले पाइरहेको पानीको धेरै अंश रोकियो । तर जमीनबाट पहिले जति पानी निकाल्थ्यौं, त्यसभन्दा कैयौं गुना बढी पानी झिक्न थाल्यौं । हेक्का राख्ने हो भने दुई दशक पहिले सिंचाइ तथा खानको लागि व्यवस्थितरूपमा पानी निकाल्ने काम कति हुन्थ्यो ? पहिले खानेपानी उद्योग तथा बोरिङ कति थिए र अहिले कति भइसके ? जहाँ खानको लागि पानीको उपयोग धेरै गरिन्छ, त्यहाँको भूमिको माथिल्लो सतहमा पानी पाउन निकै कम भएको छ । अनि खेतको फाँटबाट पनि पहिलेको तुलनामा धेरै गुना बढी पानी निकालिन थालिएको छ । यी कारणहरूले गर्दा पानीमाथि मानिसको निर्भरता बढेको देखिन्छ भने पानीको स्रोत चाहिं कम हुँदै गएको अनुभूति हुन्छ । पानीको स्रोतमाथि असर पार्ने पर्यावरणबारे हामी बिल्कुलै सचेत हुन सकेका छैनौं ।
पानीमाथि सङ्कट बढिरहेको छ । पानीविना जीवन सम्भव छैन । यी दुई कुरालाई मानिसले राम्ररी बुझेको छ । पानीले मानिसलाई बचाउँछ त्यसैले मानिसले पानीलाई बचाउनुपर्छ भन्ने अन्योन्याश्रित सम्बन्धलाई मानिसले राम्ररी नबुझेको होइन तर पनि पानीको भविष्यमाथि खेलवाड भइरहेको छ । पानीको भविष्य सुरक्षित राख्न खासै गम्भीर भएको देखिंदैन । खेलाँची गरेर पानीको प्रयोग गर्नुहुँदैन भनेर पनि बुझेको अवस्थामा पानीको विषयमा सबैभन्दा बढी जिम्मेवार स्थानीय सरकार र स्थानीय बुद्धिजीवीहरू हुनुपरेको छ । स्थानीय सक्रियताले मात्र स्थानीय पानीको स्रोतको व्यवस्थापन गर्न सम्भव छ । स्थानीय रूपमा जमीनमाथि तथा जमीनमुनिको पानी जोगाउन सम्भव छ । अहिले पनि समय छ र सम्भव पनि छ तर यदि अझै लापरवाही गरिरह्यौं भने पानीको कारण हामीले झन् बढी दुःख भोग्नुपर्ने हुन्छ ।