प्रस, वीरगंज, ६ चैत/
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले यही चैत २७ गते सङ्घीयताको विरोधमा ठूलो लडाइँ लड्न लागेको बताएका छन् ।
वीरगंजमा राप्रपाले मङ्गलवार बिपी उद्यानमा आयोजना गरेको आमसभामा अध्यक्ष लिङ्देनले चैत ५–७ तराईका जिल्लामा आमसभा गर्दै आन्दोलनको तयारीमा गरिएको र सो आन्दोलनमा तराईबाट पनि ठूलो सङ्ख्यामा प्रतिनिधित्व गराउने उद्देश्य रहेको बताए ।
तराईवासीहरूले देशका सबैखाले परिवर्तनमा साथ दिंदै आएको र राप्रपाले शुरू गरेको व्यवस्था परिवर्तनको लडाइँमा पनि तराईवासीको साथ चाहेको बताए । उनले अहिलेको व्यवस्था असफल भएको दाबी गरे । राष्ट्रिय ऋणभार बढेको छ, प्रतिव्यक्ति रु ८४ हजार ऋणमा पुगिसकेका छौं, सङ्घीयताको नाममा दलका नेता, कार्यकर्ताहरू पालिने काम मात्र भएको छ, विकासका कामले गति लिन छाडेको उनले आरोप लगाए । सङ्घीयताबाट देश उँभो लाग्ने देखिन्न, राजाको पालामा बनेका उद्योगहरू बन्द भएका छन्, बेचिएका छन्, देशमा रोजगारको व्यवस्था छैन, युवाहरू विदेश पलायन हुँदैछन् त्यसैले नेता, कार्यकर्ता मात्र पोसिने व्यवस्थाविरुद्ध तराईका जनता जाग्नुपर्ने उनले बताए ।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मधेसी जनताको जीवनशैलीमा परिवर्तन नआएको तर मधेसी जनताको हकअधिकारको लागि भनेर कुर्लने नेताहरूको जीवनशैली मात्र फेरिएको बताए । उनले मधेसका जनता अहिले पनि शिक्षा, स्वास्थ्यजस्ता नैसर्गिक अधिकारबाट वञ्चित रहेको बताए । मधेसबाट अहिलेसम्म ६० जनाभन्दा बढी मन्त्री भए तर यहाँको विकास हुन सकेन भन्दै अहिले पनि मधेसमा सडक, सिंचाइ, मललगायतका समस्या विद्यमान रहेको उल्लेख गरे । उनले अरूको भनाइमा पर्नुको साटो यहाँको जनताले आगामी दिनमा आफ्नो स्वविवेकीय निर्णय लिनुपर्ने सुझाए । उनले देशको विकासको लागि मधेसको विकास जरुरी भएको तर्क गरे ।
पार्टी प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र कार्कीले अहिलेको सरकार मताधिकारबाट सिर्जित नभएको आरोप लगाए । ११ प्रतिशत मत पाएको तेस्रो दलले देश सञ्चालन गरिरहेको भन्दै वर्तमान सरकार तस्करीमा लिप्त रहेको र लुटतन्त्र मच्चाएको आरोप लगाए । उनले माओवादी केन्द्रलाई लक्षित गर्दै उसले पार्टीको नाम सुन पार्टी र झन्डा रातोको सट्टा पहेंलो बनाउनुपर्ने कटाक्ष गरे । माओवादी केन्द्रले जनयुद्धको समयमा देश र जनताको मुहार परिवर्तन गर्ने भन्दै कमान्डरको भूमिका निर्वाह गर्ने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाड्ढा एकजना छोरा जेलमा, स्वकीय सचिव जमानतमा र स्वयम् पूर्वउपराष्ट्रपति आरोपमा परेका, सभामुख कृष्णबहादुर महराका छोरा जेलमा र स्वयम् उनी दुईपटक थुनामा परेका, अर्थमन्त्री वर्षमान पुन पनि सुनकाण्डमा आरोपित रहेको दोषारोपण लगाए । उनले राप्रपाले जननिर्वाचित प्रधानमन्त्री हुनुपर्ने माग यसै कारण गरेको बताए । जनताले चुन्ने प्रधानमन्त्री स्थायी हुन्छन्, राजनीतिक जोडघटाउको शिकार हुँदैनन्, बहुमतमा रहेर पनि विश्वासको मत लिनुपर्ने अवस्था हुन्न भन्दै जननिर्वाचित प्रधानमन्त्री अहिले देशको आवश्यकता भएको तर्क गरे । उनले ८१ प्रतिशत हिन्दू रहेको नेपाल हिन्दू राष्ट्र हुनैपर्ने तर्क गरे । हिन्दू राष्ट्रको लागि लड्दै आएको पर्सेली जनताले हिन्दुत्वको मुद्दा उठाएको राप्रपाका उम्मेदवारहरूलाई जिताएर पठाउने वातावरण निर्माण नहुनुमा राप्रपाका नेताहरूको पनि कमीकमजोरी रहेको आफूले बुझेको भन्दै राप्रपाका नेताहरूमा पनि सुधारको आवश्यकता देखिएको औंल्याए ।
राप्रपा पर्साका अध्यक्ष सुमेश्वर उपाध्यायको अध्यक्षतामा भएको आमसभामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर जबरा, केन्द्रीय सदस्य प्रह्लाद साह, तराई–मधेसका संयोजक रामप्रताप साह, कुमारी तामाङ, कञ्चन दीक्षा, मीना सुवेदी, सांसद बिणा जयसवाल, खुश्बु ओली, कमल खत्वा, अञ्जना शाह रावललगायतले मन्तव्य व्यक्त गरेका थिए ।