प्रस, वीरगंज, ६ चैत/
वीरगंजस्थित बाल सुधारगृहलाई टिपिओ र युनिसेफले उपकरण, खेल सामग्री सहयोग गरेको छ ।
केन्द्रीय बाल न्यायिक समितिका सदस्यसचिव एवं सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले मङ्गलवार बाल सुधारगृहका प्रमुख टीकाकृष्ण काफ्लेलाई १४ थान कुलर, एक/एक थान ल्यापटप, डेस्कटप कम्प्युटर र एक थान ४३ इन्चको टिभी हस्तान्तरण गरेका थिए । यसैगरी, टिपिओको तर्फबाट खेलकूद तथा स्टेशनरीका सामानहरू प्रदान गरिएको थियो ।
सो अवसरमा बाल सुधारगृहका प्रमुख काफ्लेले सुधारगृहको भौतिक संरचना अपुग भएको, जग्गा पनि थोरै रहेकोले बाल सुधारगृह सञ्चालनमा समस्या हुँदै आएको बताएका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बाल सुधारगृह स्थानान्तरणका लागि प्रयास भइरहेको बताए । उनले वीचिकालिमा बाल सुधारगृह स्थानान्तरणको प्रयास भइरहेको र निकट भविष्यमा सारिने बताए ।
केन्द्रीय बाल न्यायिक समितिका सदस्यसचिव एवं सर्वाेच्च अदालतका रजिस्ट्रार पन्थीले देशभरिका बाल सुधारगृहको आफूहरूले अनुगमन गरेको र आवश्यक स्थानहरूमा सुधारका कार्यहरू हुने बताए । युनिसेफ नेपालका बाल सुधार विभागका प्रमुख दाना रानोले युनिसेफले बाल सुधारका लागि थप योजनाहरू ल्याउने बताए ।
कार्यक्रमका अध्यक्ष न्यायाधीश दीपक खनालले बालसुधार गृहको अवस्था निकै नाजुक रहेको र यहाँको साटो कारागार चलान गर्न बालकहरुले आग्रह गर्ने गरेको बताए । उनले बालसुधार गृह नाम अनुसारको नभएको बताए । कार्यक्रममा न्यायाधीशहरू धु्रवराज त्रिपाठी, रोशन गजुरेल, नन्दकिशोर यादव, आनन्दप्रसाद श्रेष्ठ, पुरुषोत्तम नेपाल, मोना सिंह, उच्च अदालत वीरगंज इजलासका रजिस्ट्रार प्रेम खड्का, युनिसेफका सुरेश श्रेष्ठ, न्यायिक समिति वीउमनपाका संयोजक एवं उपप्रमुख इम्तियाज आलम, जिल्ला न्यायाधिवक्ता सुशील देवकोटा, जेलर फणिन्द्र दाहाल, प्रहरी उपरीक्षक कुमुद ढुङ्गेल, प्रनाउ कुमारविक्रम थापा, बाल मनोविज्ञ सावित्री भण्डारी, पर्सा बारका अध्यक्ष कमलमोहन पोखरेल, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीलगायतको सहभागिता थियो ।