प्रस, रौतहट, ६ चैत/
रौतहट जिल्ला ईशनाथ नगरपालिका–५ मठियास्थित श्री आधारभूत विद्यालयको दुई कोठे पक्की भवन बनाउँदा भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्तासहित तीनजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
भवन निर्माण मापदण्ड, गुणस्तर र इस्टिमेटविपरीत विद्यालय भवन निर्माण भएको अभियोग अदुअआले लगाएको छ । नगरपालिकाका तत्कालीन इन्जिनीयर सत्यपाल सौरभले ८६ हजार ६४७ रुपैयाँ ६३ पैसा बढी भुक्तानी गर्न बिल बनाएको अदुअआको आरोप छ ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गुप्ताले अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्यसम्पादन प्रतिवेदनमा रु १४ लाख ३५ हजार ९०० सय बराबरको रकम खर्च भएको देखिए पनि उनले रु दुई लाख ३५ हजार ८९५ बढी भुक्तानी गरेको अख्तियारले दाबी गरेको छ । अदुअआका प्रवक्ता नरहरि घिमिरेले विद्यालयका तत्कालीन प्रधानाध्यापक महमद समिम अख्तरले रु १३ लाख ५३ हजार ५० खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार ७९७ रुपैयाँ ३७ पैसा बढी खर्च लेखेको बताए ।
अदुअआले इन्जिनीयर सौरभविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६४७ रुपैयाँ ६३ पैसा बिगो जरिवानाको मागदाबी गरेको छ । तत्कालीन प्रशासकीय अधिकृत गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम रु दुई लाख ३५ हजार ८९५ बिगो जरिवानाको मागदाबी गरेको छ भने तत्कालीन प्रअ अख्तरविरुद्ध कैद सजाय र तीन लाख तीन हजार ७९७ रुपैयाँ ३७ पैसाको बिगो जरिवाना माग गरेको छ ।