प्रस, वीरगंज, ६ चैत/
वीरगंज महानगरपालिकाले यस वर्षदेखि एकीकृत परीक्षा प्रणालीमार्फत आधारभूत तह कक्षा ८ को परीक्षा लिने भएको छ ।
यही चैत १५ गतेदेखि शुरू हुन गइरहेको कक्षा ८ को महानगरस्तरीय परीक्षाका लागि महानगरको परीक्षा समितिले ११ वटा परीक्षा केन्द्र तोकेको छ । जसमा छवटा सामुदायिक विद्यालय र पाँचवटा संस्थागत विद्यालयमा परीक्षा केन्द्र निर्धारण गरिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए ।
सामुदायिक विद्यालयतर्फ त्रिजुद्ध, नृसिंह, श्रीपुर, शारदा, माईस्थान विद्यापीठ र नेरामावि सोलखपुरमा परीक्षा केन्द्र निर्धारण गरिएको र संस्थागत विद्यालयतर्फ सनलाइट, मिनील्यान्ड, कादम्बरी, जिएचपी र ओम नेशनललाई परीक्षा केन्द्र निर्धारण गरिएको प्रमुख कर्णले बताए ।
यस वर्ष कक्षा ८ को महानगरस्तरीय वार्षिक परीक्षामा ३६ वटा सामुदायिक विद्यालयका तीन हजार १४१ र ८२ वटा संस्थागत विद्यालयका दुई हजार ५२१ गरी कुल पाँच हजार ६५७ जना विद्यार्थीले सहभागी हुने उनले बताएका छन् ।
परीक्षालाई निष्पक्ष, शान्तिपूर्णरूपमा सम्पन्न गराउन मङ्गलवार महानगरको परीक्षा समितिले ११ वटै केन्द्रमा केन्द्राध्यक्ष नियुक्त गर्नुका साथै कामकर्तव्यबारेमा जानकारी गराएको छ । परीक्षा सकिएपछि परीक्षा केन्द्रमैं उत्तरपुस्तिका जाँच गरी नतीजा तयार पार्ने र चैत २८ गते सार्वजनिक गरिने प्रमुख कर्णले जानकारी दिए ।
आधारभूत तहबाटै अध्ययन अध्यापनलाई प्रभावकारी बनाउन र शैक्षिक गुणस्तर उकास्ने उद्देश्यले महानगरमा पहिलोपटक एकीकृत परीक्षा प्रणालीबाट आधारभूत तहको वार्षिक परीक्षा लिन लागेको प्रमुख कर्णले बताए । उनले विगतमा अध्ययनरत विद्यालयमा परीक्षा लिने, उत्तरपुस्तिका जाँच गर्ने कार्य गरिंदा शिक्षकहरूबाट चलखेल हुने गरेकामा यस्तो कार्य हुन नदिन यसपालिदेखि महानगरले एकीकृत माध्यमबाट परीक्षा लिन लागेको बताए ।
उनले एकीकृत परीक्षा प्रणाली शुरू भएसँगै अध्ययन–अध्यापन सम्बन्धित विद्यालयले गर्ने र त्यसको मूल्याङ्कन तेस्रो पक्षबाट गरिने व्यवस्था मिलाएको बताए । विद्यार्थीको सिकाइ मापन तेस्रो पक्षले गर्दा निष्पक्ष र यथार्थपरक हुने विश्वासका साथ महानगरले यस वर्षदेखि एकीकृत परीक्षा प्रणाली शुरू गरेको उनले प्रस्ट्याए ।
नवनियुक्त केन्द्राध्यक्षहरूलाई नगरप्रमुख राजेशमान सिंहले नियुक्तिपत्र प्रदान गर्दै आधारभूत तहको अन्तिम परीक्षा निष्पक्ष र शान्तिपूर्णरूपमा सम्पन्न गराउन निर्देशन दिएका थिए ।