• राजेन्द्रप्रसाद कोइराला
नसर्ने रोगको सङ्क्रमण वा अन्य व्यक्तिमार्फत नसर्ने रोग सामान्यतया अस्वस्थकर अभ्यासबाट उत्पन्न हुन्छ । त्यस्ता रोग विश्वव्यापी मृत्युको प्रमुख कारण हुन् र स्वास्थ्य र विकासको लागि ठूलो खतरा हुन् । विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा यसको प्रकोप डरलाग्दो छ । यी रोगहरू संसारमा मृत्यु र अशक्तताको नम्बर एक कारण हुन् ।
धेरै नसर्ने रोगहरूलाई सामान्य–जस्तै सुर्तीजन्य पदार्थको प्रयोग, हानिकारक रक्सीको प्रयोग, शारीरिक निष्क्रियता र अस्वस्थ आहार कम गरेर रोक्न सकिन्छ । नसर्ने रोगहरू प्रायः व्यक्तिको जीवनशैली, आनीबानी, व्यवहार, मानसिक असन्तुलन, हर्मोनको असन्तुलन, खानपिनजस्ता विभिन्न कारणले देखा पर्दछन् । यस्ता रोगहरू कहिलेकाहीं वंशाणुगत कारणले पनि सर्ने गर्दछन् । नसर्ने रोगहरू प्रायः दीर्घ प्रकारका हुन्छन् । जस्तैः क्यान्सर, मधुमेह, ग्यास्ट्राइटिस, अम्लपित्त, पत्थरी, उच्च रक्तचाप, मुटुसम्बन्धी रोगहरू, मिर्गौलाका रोगहरू, हाडजोर्नी तथा नसासम्बन्धी रोगहरू, बाथ, मानसिक रोगहरू, चोटपटक र दुर्घटनाका कारण हुने अशक्तता आदि नसर्ने रोगका उदाहरण हुन् ।
अहिले संसारमा सर्ने रोगको समस्या कम हुँदै गइरहेको र नसर्ने रोगको व्यापकता तथा जोखिम निरन्तर बढ्दै गइरहेको छ । नेपालमा समेत विभिन्न समयमा भएका अध्ययन तथा अनुसन्धानले नसर्ने रोगको व्यापकता र यसले भयावह अवस्था आउन सक्ने चेतावनी दिन थालिएको छ । सबैभन्दा बढी मुटुसम्बन्धी समस्या वा हृदयाघात, दोस्रोमा क्यान्सर, तेस्रोमा श्वासप्रश्वाससम्बन्धी समस्या र चौथोमा मधुमेह रोग नेपालमा पनि प्रमुख नसर्ने रोगका चुनौती हुन् भनिएको छ । अहिले विश्वलगायत नेपालमा जम्मा मृत्युको ५१ प्रतिशत यस्तै विभिन्न नसर्ने रोगका कारण हुने गरेको अनुसन्धानले पुष्टि गरेको छ । अतः यस्ता नसर्ने रोगको जोखिम पहिचान गरी समयमैं उपयुक्त कदम नचाल्ने हो भने थप भयावह अवस्था सृजना हुन सक्ने हुँदा अहिले संसारभरका मानिसहरूको मुख्य सरोकार नै नसर्ने रोगको रोकथाम र न्यूनीकरण बनेको छ ।
नसर्ने रोगका अवस्थाहरू
विश्वमा अहिले ठूलो समस्याको रूपमा नसर्ने रोगको समस्या देखापरिरहेको छ । मानिसले विभिन्न विज्ञान र प्रविधिको क्षेत्रमा सफलता हासिल गरेको छ र भौतिक सेवा–सुविधाले भरिपूर्ण भइरहेको छ । तर, यस्ता विकासले विनाशसमेत भिœयाइरहेकोले मानिस त्राहिमाम बनिरहेको छ । औषधि विज्ञान र प्रविधिको विकासले मानिसले विभिन्न कीटाणुविरुद्ध विजय हासिल गरेको छ, तापनि आप्mनो शरीरभित्रै उत्पन्न हुने विभिन्न रोगबाट भने पराजित भएको छ । शरीरमा रोग उत्पन्न गर्ने विभिन्न कारक तŒवसँग मानिसले लडाइँ जित्न सकेको छैन र थकित बनेको अवस्था छ । यसैको परिणाम हो नसर्ने रोगको बिगबिगीका कारण मानिसले जीवन गुमाउनुपरेको छ । यो समस्याबाट विश्वलगायत नेपाल पनि अछूतो छैन । संसारमा हालसालैको (विश्व स्वास्थ्य सङ्गठन २०२३) तथ्याङ्क हेर्ने हो भने नसर्ने रोगको समस्या यस्तो देखिन्छ :
– संसारमा हुने कुल मृत्युको ७४ प्रतिशत मृत्यु वा प्रतिवर्ष ४१ मिलियन (चार करोड दश लाख) व्यक्तिको मृत्यु नसर्ने रोगबाट हुने गरेको छ ।
– ७० वर्ष उमेर नपुग्दै मृत्यु हुने व्यक्तिमध्ये १७ मिलियन व्यक्तिको मृत्यु नसर्ने रोगले गर्दा हुने गरेको छ ।
– उमेर नपुग्दै हुने मृत्यु हुनेमा ८६ प्रतिशत कम आय हुने वा गरीब मुलुकमा हुने गरेको छ भने ७७ प्रतिशत यस्तो मृत्यु नसर्ने रोगका कारणले हुने गरेको छ ।
– नसर्ने रोगबाट मृत्यु हुने प्रमुख चाररोगमध्ये वार्षिक १७.९ मिलियन व्यक्तिको मृत्यु नसर्ने प्रकारको मुटुरोगसँग सम्बन्धित कारणले हुने गरेको छ । क्यान्सरबाट ९.३ मिलियन, दीर्घ श्वासप्रश्वास रोगबाट ४.१ मिलियन र मधुमेह र मधुमेहसँग सम्बन्धित जटिलताबाट २ मिलियन व्यक्तिको मृत्यु हुने गरेको छ ।
– यी सबै किसिमका नसर्ने रोगहरूको मृत्युको प्रमुख कारण सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन, शारीरिक निष्क्रियता, मद्यपानको अनियन्त्रित सेवन, अस्वस्थकर भोजन र वायु प्रदूषण देखिएका छन् ।
– यस्ता रोगबाट बाँच्न वा मृत्युदर घटाउन रोग, शुरू अवस्थामैं पहिचान गर्नु, नियमित स्वास्थ्य परीक्षण गर्नु, जीवन शैलीगत अस्वस्थकर रहनसहन हटाउनु र रोगीको राम्रो उपचार तथा स्याहार गर्नु नै मुख्य उपाय हुने ठहर गरिएको छ ।
नसर्ने रोगहरूको भविष्यको आकलन
नसर्ने रोगहरूको रोकथाम र त्यसप्रति सजग रहन आजैदेखि प्रयत्न नगर्ने हो भने भविष्यमा नसर्ने रोग यति भयावह र आक्रामक बनेर आउने अनुमान गरिएको छ, जसको चपेटामा जोकोही पर्ने निश्चित छ । आजैदेखि नसर्ने रोगबारे सचेतत नहुने हो र जीवनशैलीमा सुधार नगर्ने हो भने शायद मानिसको विनाश नसर्ने रोगबाट हुने दिन नआउला भन्न सकिन्न । यदि अहिलेकै तथ्याङ्कले निरन्तरता पाउँदै जाने हो भने भविष्यमा नसर्ने रोगको अवस्था यस्तो देखिने छ :
– विश्वमा नसर्ने रोगका कारणले मात्र हुने मृत्यु कुल मृत्युको ७५ प्रतिशत हुन सक्ने अनुमान गरिएको छ ।
– मुख्य पाँच किसिमका नसर्ने रोगका कारण वार्षिक लगभग २ ट्रिलियन डलर आर्थिक नोक्सान हुनेछ । यसले विश्वमा आर्थिक धक्कासमेत दिनेछ ।
– नसर्ने रोगहरूले जनसङ्ख्या वृद्धि र जलवायु असन्तुलनको चरम अवस्थामा आएको आपत्तिको समेत सामना गर्नुपर्नेछ, जसले गर्दा मृत्युदर थप बढ्न सक्नेछ ।
– गरीब र कम विकसित देशमा नसर्ने रोगले ७७ प्रतिशत मृत्यु ओगट्ने वा आगामी ३० वर्षमा प्रत्येक चारजनाको मृत्युमध्ये ३ जनाको मृत्यु गरीब मुुलुकमा मात्र हुनेछ ।
यस्तो भयावह र त्रासद अवस्था ल्याउन सक्ने नसर्ने रोगबारे आजैदेखि सचेत हुन, सबैले यसविरुद्ध सशक्त प्रतिकार गर्न र सामना गर्न तयार हुनु जरूरी छ । यस्ता नसर्ने रोगका सन्दर्भमा बढीभन्दा बढी कुरा बुझ्न आवश्यक छ ।
नसर्ने रोगका मुख्य कारण र जोखिम तŒवलाई यसप्रकार उल्लेख गर्न सकिन्छः
– धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन
– मद्यपान
– अस्वस्थकर जीवनशैली र आहारविहार
– विशेष किसिमका पेशा
– वातावरणीय प्रदूषण
– दबाब वा तनावको सामना
– आनुवंशिक प्रभाव वा गडबडी
नसर्ने रोग रोकथामका उपायहरूः
– स्वस्थकर व्यवहार वा जीवनपद्धति अवलम्बन गर्ने
– पर्याप्त खाना खाएर शक्तिको आपूर्ति गर्ने तर जथाभावी र बढी खाना नखाने
– नियमित शारीरिक अभ्यास वा योग, ध्यान, प्राणायाम गर्ने
– शरीरको उचाइ अनुसार उचित तौल नियन्त्रण गरी मोटोपनबाट बच्ने
– धूमपान, मद्यपान, लागू पदार्थ तथा विभिन्न अम्मलहरू नखाने
– सबैलाई शिक्षाको अवसर दिने वा व्यवस्थापन गर्ने
– रोजगार तथा स्वस्थकर आवासको व्यवस्था गर्ने
– पर्याप्त स्वास्थ्यसेवा उपलब्ध गराउने
– वातावरणीय तथा पेशागत स्वस्थता कायम गर्ने
– विद्यालयमा विशेष स्वास्थ्य शिक्षा दिने र नियमित विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने आदि ।
अन्तमा, शारीरिक निष्क्रियता, धूमपान तथा मद्यपान र अस्वस्थकर खानपिन (चिल्लो र नुनको मात्रा बढी र फलपूmल तथा सागपात कम) जस्ता कारणले नसर्ने रोगको जोखिम बढेको हो, जसलाई खाना खाने प्रक्रिया वा बानीमा सुधार गर्न सके यस्ता रोगको केही हदसम्म निवारण गर्न सकिन्छ । त्यस्तै व्यक्तिको उमेर, लिङ्ग, जाति, पारिवारिक आनुवांशिकताजस्ता तŒवहरूका कारण पनि कतिपय रोगको जोखिम बढ्ने गर्छ, जसलाई निवारण गर्न सकिंदैन । यस्ता जोखिमबाट बाँच्न केही हदसम्म जीवनशैली व्यवस्थापनले सहयोग गर्छ । स्वास्थ्य शिक्षाको अपरिहार्यतालाई हामी सबैले मनन गर्नु जरूरी छ ।