विवादित काली कम्बलवाला बाबालाई वीरगंजबाट भगाइएको छ । आइतवार वीरगंजमा उनी चौथो दिनको बिहानी शिविर सञ्चालन गरेर उनी चिया पिउन निस्केका थिए र त्यसपछि शिविरमा नपुग्दा बाबालाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएको हल्ला फैलियो । बाबालाई रोग देखाउन आएका अन्धविश्वासीहरू आक्रोशित बने, राजमार्ग बन्द गर्न खोजे । प्रहरीले भीडलाई हटाउन बल प्रयोग गर्नुप-यो । हिजो दिउँसो वीरगंज चिनी कारखाना परिसरमा रहेको भीड राजमार्ग केन्द्रित बनेपछि एकाध घण्टा प्रहरी र अन्धविश्वासीहरूबीच घम्साघम्सी भयो । बाबाले चैत १ गतेदेखि सो स्थानमा निश्शुल्क शिविर सञ्चालन गर्दै आएका थिए । उनका शुभेच्छुकहरूले भारतबाट बाबालाई वीरगंज शिविरका लागि ल्याएका थिए । निश्शुल्क भनिए पनि हजारौंको भीडमा दानपेटिका राखिएको थियो । जसमा आउनेहरूले ५०/१०० रुपैयाँ राख्ने हो भने हजारौं र लाखौं हुन्छ । यसका अतिरिक्त पार्किङ शुल्क पनि उठाउन थालियो र नरिवलको चढावन शुरू भयो । एउटा नरिवल चढाउन छ सयसम्म तिर्नुपर्ने भयो । पिउने पानी मात्र बिक्री गरेर हजारौं कमाउनेहरूको व्यापार चल्यो । बाबालाई शिविरमा मेरो रोगी हेरिदेऊ, मेरो पहिले हेरिदेऊ भन्नेहरूको भीड बढ्यो, तानातानको अवस्था सिर्जना भयो ।
आयोजकहरूले आर्थिक कारोबार हातबाट छुट्दै गएको र बाबा पनि भीडको शिकार बनिरहेको कुरालाई लिएर आत्तिए । अत्यधिक भीड र मौसम बदलिएर गर्मी शुरू भएको अवस्थामा कम्बल ओढाएर उपचार विधि गरिंदा निसासिएर अर्काे दुर्घटना नहोस् भनेर आयोजक बाबालाई भगाउने अन्तिम निधोमा पुगेर प्रहरी प्रशासनसँग सहकार्य गरेर भारत फिर्ता पठाउन सफल भए । यसमा स्थानीय अस्पतालहरूको हात भएको हल्ला पनि चल्यो । आयोजक अस्पतालबाट प्रभावित भएर प्रहरी प्रशासनलाई झुक्याएर बाबालाई भगाएको हल्ला पनि चल्यो । आर्थिक समस्याका कारण सबैको पहुँचमा अस्पताल बन्न नसकेको अवस्थामा यस्ता बाबाहरूको अघोषित आय हुने निश्शुल्क शिविरमा अन्धविश्वासीहरू पुग्ने नै भए ।
कसैलाई के समस्या कसैलाई के । सबैले आफ्नो समस्या निदान होस् भन्ने चाहना राख्नु अस्वाभाविक पनि होइन । समस्या मुक्त होइन्छ भन्ने आशामा मानिसहरू जस्तोसुकै अन्धविश्वासको पछि लाग्छन् । त्यसमा आर्थिक अभावले अस्पतालमा उपचार गराउन नसकेकाहरूसँगै शिक्षाको कमीले अन्धविश्वासीहरूलाई चतुर चलाखहरूले ठग्ने नै भए । काली कम्बलवाला बाबाको सवालमा पनि यस्तै भएको हो । दुई सातादेखि प्रचार गरेर उनले सो स्थानमा शिविर सञ्चालन गरेका हुन् । उनलाई शिविर सञ्चालनका लागि कसले इजाजत दियो यसको खोजी भएको छैन । भीड बढ्दै गएको र आयोजकको स्वार्थ बाझिएपछि प्रहरी प्रशासनले बाबालाई नियन्त्रणमा लिएर वीरगंज कटाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा गहनरूपमा अनुसन्धान गर्ने हो भने यी सबै कार्यमा आयोजकसँगै स्थानीय पालिका, प्रहरी प्रशासन पनि दोषको भागीदार बन्न सक्छन् । तर दोष लिने हामीमा प्रचलन नै छैन । अपजस नलिने तर जस लिन तँछाडमछाडन गर्ने प्रवृत्तिले हामी पछि परेका छौं । बाबालाई ल्याउँदा आयोजक, स्थानीय पालिका, प्रहरी प्रशासन र राजनीतिक दलका व्यक्तिहरू सबै जस अग्रसर थिए तर अहिले अपजस बढेपछि कोही पनि अगाडि देखिंदैनन् ।