प्रस, वीरगंज, ४ चैत/
फागुन २ गतेदेखि वीरगंजको रातो बङ्गलामा सञ्चालन भइरहेको दोस्रो वीरगंज फूटवेयर एक्सपोले महानगरपालिकालाई एक सातापछि राजस्व बुझाएको देखिन आएको छ ।

दोस्रो वीरगंज फूटवेयर एक्सपो महानगरको बिपी उद्यान (रातो बङ्गला)मा फागुन २ गतेदेखि सञ्चालनमा आएको हो । सञ्चालनमा आउनुअगाडि राजस्व बुझाउनुपर्ने थियो तर एक्स्पोले राजस्व नबुझाएर एक साता सञ्चालनमा ल्यायो । राजस्व नबुझाएर एक्स्पो सञ्चालन भएको कुरा बाहिरिएपछि फागुन ९ गते एक्स्पोले महानगरलाई एक लाख ४७ हजार राजस्व बुझाएको थियो ।

महानगरको नियम अनुसार प्रतिवर्गफुट रु १५ मासिक राजस्व तिर्नुपर्छ । दोस्रो वीरगंज फूटवेयर एक्स्पो सञ्चालन भएको एक महीना बितिसकेको छ र बुझाइएको राजस्वको अवधि सकिए पनि अहिले थप राजस्व बुझाइएको छैन ।

एक्स्पो सञ्चालन गर्न रातो बङ्गलाको करीब अढाई कट्ठाभन्दा बढी जमीन उपयोग भएको छ । एक महीना अवधि चैत १ गते नै सकिएको र थप अवधिको राजस्व बुझाइएको छैन ।

महानगरले शुरूमा एक हप्तापछि राजस्व बुझेको र अहिले चार दिन अवधि बितिसक्दा पनि थप राजस्व लिनेतर्फ चासो देखाएको छैन ।

दोस्रो वीरगंज फूटवेयर एक्स्पो सञ्चालन हुँदा उत्पादन मूल्यमा १० देखि ५० प्रतिशत छुट दिने पत्रकार सम्मेलन गरी घोषणा गरिए पनि एक्स्पोमा बजार मूल्यभन्दा बढीमा जुत्ताचप्पल बिक्री भइरहेको उपभोक्ताहरूले गुनासो गरेका छन् । मेलामा सस्तो हुनुपर्नेमा बजारभन्दा महँगो भएको केही उपभोक्ताहरूले आरोप लगाएका छन् । एक्स्पोमा १३ वटा स्वदेशी कम्पनीका जुत्ताचप्पल बिक्रीका लागि राखिएका छन् । यसअघि पनि वीरगंजमा एक्स्पो सञ्चालन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here