प्रस, वीरगंज, ३ चैत/
पर्सामा अहिले व्यापकरूपमा खुलेआम दैनिक घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण भइरहेको छ ।

सीमा क्षेत्र, जङ्गली क्षेत्रलगायत वीरगंज महानगरका केही टोलमा घरेलु मदिरा उत्पादन हुने गरेको छ । बाराका निजगढ, अमलेखगंजलगायत अन्य जिल्लाहरूबाट पनि घरेलु मदिरा वीरगंजमा आउने गरेको छ । बिपी उद्यानको खाली जग्गामा दुई दर्जनको सङ्ख्यामा रहेका घरेलु मदिरा बिक्री वितरण गर्ने पसलहरूबाट घण्टाघर तथा श्रीपुर प्रहरीले आर्थिक लाभ लिने गरेको स्रोतले बताएको छ । जङ्गलभित्र रहेको झबराहा गाउँमा दैनिक १० हजार लिटर घरेलु मदिरा उत्पादन भई वीरगंज पुग्ने गरेको छ । घरेलु मदिरा उत्पादन गर्न त्यहाँका बासिन्दाहरूले वनविनाश पनि त्यत्तिकै गरिरहेका छन् । वनरक्षकका अनुसार झबराहाबाट महिलाहरूले स्कूटीलगायत अन्य सवारीसाधनहरूमा लुकाइछिपाइ घरेलु मदिरा वीरगंज पु¥याउने गरेका छन् । पर्साका ठोरी, सुर्वणपुर, महादेवपट्टि, पाडेपुर, असवारी, टिहुकी, फजतवा, भिस्वा, वीरगंजको रानीघाट कृषि अनुसन्धाननजीक, छपकैया, मुर्लीबाट घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण हुने गरेको छ । प्रहरीको मिलेमतोमा घरेलु मदिराको अवैध धन्धा भइरहेको स्थानीयहरूले जानकारी दिएका छन् ।

छिपहरमाईको बन्जारी गाउँमा घरेलु मदिरा उत्पादन भइरहेको जानकारी प्रहरीलाई दिए पनि बेवास्ता गरिएपछि प्रहरीको मिलेमतो अवैध कार्य भइरहेको पुष्टि हुन्छ । प्रहरी चौकी भिस्वाका सुरक्षाकर्मीहरूको रासन घरेलु मदिरा उत्पादन समितिले दिने गरेको छ । सोही कारण प्रहरी चौकीअगाडि नै दर्जनौं पसलबाट घरेलु मदिरा बिक्री विरतण हुने गरेको छ ।

अन्य जिल्लाबाट वीरगंज आउने लोकल बसहरूमा भारी मात्रामा घरेलु मदिरा वीरगंजमा आउने गरेको छ । सबै बस वीरगंज बसपार्कमा रोकिएपछि प्रहरीकै संरक्षणमा वीरगंजभरिका घरेलु मदिरा पसलहरूमा मदिरा पु¥याउने कार्य निर्बाधरूपले गरिन्छ ।

घरेलु मदिराको व्यापक बिक्री वितरणकै कारण अहिले समाजमा अशान्ति मचेको स्थानीयहरूले बताएका छन् । भिस्वा बजारमा बढ्दो चोरीका घटनामा घरेलु मदिरा सेवन गर्न आउने भारतीय नागरिकहरू संलग्न रहेको स्थानीय प्रहरीहरू नै स्वीकार्छन् । अबेर रातिसम्म भट्टी सञ्चालन गर्न दिने, रात छिप्पिएपछि त्यहाँबाट सामानहरू भारत पठाउने र भारतबाट ल्याउने काम शुरू हुन्छ । त्यति बेला सबै प्रहरी पोस्टभित्र बस्छन् । सोही समयमा सामान ओसारपोसार गर्ने व्यक्तिहरूले मौका छोपी कहिले विद्यालयको ल्यापटप, कहिले पसलको ताला फोडी सामान चोर्ने गरेको स्थानीयहरूले जानकारी दिएका छन् । अबेर राति भिस्वामा हुने अवैध कारोबारका कारण भिस्वावासी आतङ्कित छन् ।

जानकीटोलास्थित ओरिया नदीको छेउमा सञ्चालित मदिरा पसलहरूका कारण बटुवाहरूलाई हिंड्नसमेत समस्या भइरहेको छ । महिलालाई मोटरसाइकलमा लिएर आउँदा–जाँदा जिस्काउने गरिएको पीडितहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here