दिनेशकुमार मिश्र, वीरगंज, ३ चैत/
चैनपुर परिवारको आयोजना र परवानीपुर गाउँपालिकाको सहयोगमा प्रथम चैनपुर प्रिमियर लिग क्रिकेट प्रतियोगिता–२०८० शनिवारदेखि शुरू भएको छ । प्रदीप महतोको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन गापाध्यक्ष रामक्षत्रीप्रसाद पटेलले गरेका थिए । गापाध्यक्ष पटेलले प्रतियोगितालाई आफ्नो कार्यकालमा निरन्तरता दिने घोषणा गरे । आगामी बजेटमा प्रतियोगिताका लागि आवश्यक बजेट विनियोजन गरिने उनले बताए । उनले अहिले क्रिकेटमा नेपाली खेलाडीहरूले विश्वमा नाम चिनाएको र धेरै कीर्तिमान बनाएको बताए । कार्यक्रममा वडाध्यक्ष गम्भीराराउत कुर्मी, पूर्ववडाध्यक्ष गजेन्द्र पटेल, कार्यपालिका सदस्य महन्त राम, वडा सदस्य जगदीशसाह कानू, राजदेव पटेल, क्लबका दिनेश साह तेली, विशाल पटेल, दीपेश कुशवाहा, अशोक साह, उमाशङ्कर साह, सागर पटेललगायत सहभागी रहेको सचिव जयराम रामले बताए ।
उद्घाटन खेलमा बिर्ता राइडर्स र चैनपुर इगल्सबीचको खेलमा चैनपुर इगल्स विजयी भयो । पहिला ब्याटिङ गरेको बिर्ताले १३ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । चैनपुरले ११ ओभरमा छ विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । चैनपुरका अरविन्द यादव ‘म्यान अफ दी म्याच’ घोषित भए ।
दोस्रो खेलमा रामटोल वारियर्स विजयी भयो । शिवपुर टाइगर्सलाई १८ रनअन्तरले पराजित गर्दै रामटोल विजयी भएको हो । पहिला ब्याटिङ गरेको रामटोलले १२ ओभरमा सबै विकेट गुमाएर ९९ रन बनाएको थियो । शिवपुर टाइगर्स भने १४ ओभरमा सबै विकेट गुमाएर ८२ रनमा सीमित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ रामटोल वारियर्सका साजन पटेल घोषित भए ।
भोलिको पहिलो खेल रोयल च्यालेन्जर्स चैनपुर र रामटोल वारियर्स तथा दोस्रो खेल चैनपुर क्यापिटल्स र बिर्ता राइडर्सबीच हुनेछ ।